• १९ असार २०८१, बुधबार

गँड्यौला मल उत्पादन सुरु

blog

उत्पादित गँड्यौला मलको झोलासहित प्रतिनिधिहरू । तस्बिर: तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, असार १७ गते । रासायनिक मलको प्रयोगमा कमी ल्याउने उद्देश्यले गुल्मीमा गँड्यौला मल उत्पादन सुरु गरिएको छ ।पछिल्लो समय रासायनिक मलको प्रयोग बढी भएकाले त्यसको प्रतिस्थापन गर्न  धुर्कोट आर्गनिक कृषि तथा गँड्यौला मल उत्पादन फर्मले मल उत्पादन गर्न थालेको छ । 

स्वच्छ कृषि खेतीका लागि गँड्यौला मल उत्तम हुने भएकाले मल उत्पादन गर्न थालेको फर्मका सञ्चालक खिमानन्द भण्डारीले बताउनुभयो । गँड्यौला मलको प्रयोग गरी लगाइएको अन्नबालीले खाद्य तथा पोषणमा समेत टेवा पुग्ने उहाँको भनाइ छ ।  यस मलको प्रयोगले बोटबिरुवा तथा अन्नबाली राम्रो हुने र उत्पादनमा समेत वृद्धि हुने उहाँको दाबी छ ।  

फर्मको सोमबार एक कार्यक्रमबिच उद्घाटन गर्दै जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्रीले निरन्तरता दिन आग्रह गर्नुभयो । केही समय फर्म खोल्ने र पछि बन्द गर्ने प्रवृत्ति रहेको उदाहरण प्रस्तुत गर्दै उहाँले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । 

इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खडकाले स्थानीय उत्पादनलाई बढी प्रयोगमा ल्याउने बताउनुभयो । फर्मलाई निरन्तर रूपमा चलाइ राख्न सक्दो सहयोग गर्ने उहाँको भनाइ छ ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले आगामी वर्ष सुन्तला खेतीमा यस मलको प्रयोग गर्ने बताउँदै ढुक्क भएर उत्पादन गर्न आग्रह गर्नुभयो । अहिले यहाँको केही उत्पादन मललाई पालिका परिसरमा रहेका बिरुवामा प्रयोग गर्ने र बिस्तारै पालिका भित्रको कृषि खेतीमा यस मललाई प्रयोगमा ल्याउने बताउनुभयो । 

कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले यस वर्ष माटो व्यवस्थापन कार्यक्रम मार्फत पाँच लाख पाँच हजार ९४३ रुपियाँ सहयोग गरेको बताउनुभयो । पहिले माटो परीक्षण गरी फर्मलाई सहयोग गरिएको हो । यसका साथै फर्मबाट उत्पादित मलको ल्याब परीक्षण गरेर मात्र प्रयोगमा ल्याएको उहाँको भनाइ छ । 

गाउँमै मल उत्पादन फर्म खुलेपछि रासायनिक मलमा भएको परनिर्भरता पनि हट्दै जाने कार्यालयले विश्वास लिएको छ । हाल २६ क्विन्टल मल बिक्री गरेको र आठ क्विन्टल मल उत्पादन गरेर तयारी अवस्थामा रहेको फर्म सञ्चालक खिमानन्द भण्डारीले बताउनुभयो । 

मल प्रतिकेजी ३० रुपियाँको दरले बिक्री गर्दै आएको उहाँको भनाइ छ ।  हाल चार केजीको बोरामा मल प्याकिङ गरिएको छ ।