• १० मंसिर २०८१, सोमबार

वन्यजन्तुका कारण विद्यार्थी जोखिममा

blog

फाइल तस्बिर

खजुरा (बाँके), असार १७ गते । वन्यजन्तुका कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका विद्यालयका विद्यार्थी जोखिमपूर्ण अवस्थामा छन् । साँझ र बिहानको समयमा निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा रहेका विद्यालय आवतजावत गर्दा वन्यजन्तुको आक्रमणको जोखिम बढेको हो । 

वन्यजन्तुको डरले बालबालिका त्रसित हुने गरेका कोहलपुर नगरपालिका-१३ स्थित बाल शिक्षा माविका प्रधानाध्यापक तर्क खत्रीले बताउनुभयो । खुला विद्यालयलाई तरबार गरी सुरक्षित गर्न निकुञ्जलगायत  सरोकारवाला निकायको उहाँले ध्यानाकर्षण गराउनुभयो । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र १८ विद्यालय रहेका छन् । बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सङ्ख्या बढेसँगै मध्यवर्ती क्षेत्रभित्र वन्यजन्तु आक्रमणको जोखिम बढेको हो । 

विद्यालय समयमा विद्यार्थी एक्लै हिँड्नुभन्दा समूह बनाएर सँगसँगै हिँडेमा सम्भावित जोखिमबाट बच्न सकिने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका सहायक संरक्षण अधिकृत उमेश पौडेलले बताउनुभयो । उहाँका अनुसार बालबालिकालाई वन संरक्षण र त्यसबाट हुने जोखिमबारे अभिभावक तथा शिक्षक दुवैले सचेत गराउनुपर्ने र जथाभाबी वनजङ्गल जान नहुनेबारे सचेत गराइएको छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेका विद्यालयका विद्यार्थीको सुरक्षाका लागि स्थानीय सरकार र निकुञ्जले तरबार गर्नुपर्ने स्थानीयको माग छ । रासस