• १९ असार २०८१, बुधबार

बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न सांसदको माग

blog

काठमाडौँ, असार १७ गते । प्रतिनिधि सभा सदस्य शान्ति बिकले बलात्कार घटनाका अपराधीलाई कठोर कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद बिकले खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं. १२ को एक विद्यालयमा शिक्षकले नाबालिकालाई बलात्कार गरेको भन्दै कडा कारबाही गर्न माग गर्नुभएको हो ।

उहाँले विद्यालय जस्तो पवित्र स्थलमा समेत बालिकाहरु सुरक्षित हुन नसकेका भन्दै कडा कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले पीडितलाई न्याय दिलाउन र समाजमा यस्तो घटना नदोहोरिनका लागि सरकारले कडा कदम चाल्नुपर्ने बताउनुभयो ।

‘‘खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीस्थित ज्योति मा.वि. पढ्ने १३ वर्षीय बालिका आफू सुरक्षित भएको महसुस गर्न पाइन् त ? आफ्नै शिक्षक ५८ वर्षीय शम्भुप्रसाद घिमिरेजस्तोको गिद्धे नजर स्कुलजस्तो पवित्र थलोमा, शिक्षा क्षेत्रमा बालिकाहरु असुरक्षित छन् भन्ने कुराको आधार प्रमाणित हो ।,’’ सांसद बिकले भन्नुभयो, ‘‘कहिलेसम्म विद्यालय, घर, अफिसलगायत कुनैपनि क्षेत्रमा म सुरक्षित छु भन्ने त्रास मनमा बोकेर कुदृष्टिको मनोविज्ञानको चुनौतीको अगाडि पितृ सत्तात्मक सोचले गर्दा, महिला बालबालिकाको सुरक्षामा ध्यान नराख्दा, कडा कानूनको प्रावधानहरुको कमी वा कार्यान्वयनमा कमजोरी हुँदा यस्तो गम्भीर अपराधले ठाउँ पाइराखेको छ । यस्तो घटना घटाउने अपराधीलाई कठोर कानुनी कारबाहीको लागि सरकारसँग माग गर्छु । यस्तो जघन्य अपराध गर्ने शिक्षकलाई आजिवन जेल सजाय वा जरिवाना, आजीवन शिक्षण पेशाबाट प्रतिबन्ध लगाउनुपर्छ । पीडितलाई न्याय दिलाउन र समाजमा यस्तो घटना नदोहोरिनका लागि सरकारले कडा कदम चालोस् ।’’
यसैगरी, अर्का सांसद विनीता कठायतले कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण दलले हुलदंगा गरेर अशान्ती मच्चाएका भन्दै कानुनी दायरामा ल्याउन माग गर्नुभयो । प्रतिष्ठान घेराउ गर्ने तथा अमर्यादित काम गर्ने गरिएको भन्दै कांग्रेस नेताहरुकै संलग्नतामा अस्पतालको भविष्य धरापमा पारिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘युवा र विद्यार्थी देखाएर स्वयं कांग्रेस पार्टीका जुम्ला जिल्ला सचिवको नेतृत्वमा गएको टोलीले प्रतिष्ठानको शान्त वातावरण धमिल्याउन खोज्नु र अशान्ति मच्चाउनु कानुन विपरीत कदम हो । यसलाई तत्काल कानुनी दायरामा ल्याउन र सेवामा खटिएका स्वास्थ्यकर्मी, कर्मचारीहरुको सुरक्षा प्रत्याभुति गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’’

उहाँले स्वास्थ्यकर्मी र कर्मचारीहरुको सुरक्षा प्रत्याभुति गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।