• १९ असार २०८१, बुधबार

पर्यटनको आधार हवाई सेवा

blog

अफ्रिकी मुलुक इथोपिया सन् १९९० ताका विश्वकै विपन्न मुलुकमा गनिन्थ्यो । पञ्चायतको अन्तिमताका नेपाललाई समेत इथोपिया जस्तै हुन थाग्यो भनेर भाषण गरिन्थो । त्यो देशमा लामो समयको प्रतिकूल मौसमका कारण खाद्यान्न उत्पादन सीमित भयो । फलस्वरूप ठुलो भोकमारीको सामना गर्नु परेको थियो । देशको एक भाग इरिटिया अलग भएपछि झनै चोट पुग्यो । अस्थिरता बढ्यो । ती सबै अवस्थाको सामना गर्दै इथोपियो अगाडि बढ्यो । सबैभन्दा अब्बल त हवाई सेवामा व्यापक विस्तार गर्न सफल भयो । हवाई सेवालाई देशको अर्थतन्त्रसित जोड्यो । पर्यटन विस्तारसँग जोड्यो । इथोपियन विमान सेवासँग अहिले १३० भन्दा बढी जहाजले विश्वभर उडान भरिरहेका छन् । अफ्रिकी महादेशमा मात्र होइन, सबैतिर नै इथोपिन विमान सेवा प्रतिस्पर्धी छ । संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनलाई प्रतिस्पर्धी तवरले यो विमानले सेवा प्रदान गरिरहेको छ । त्यसले देशको अर्थतन्त्र उक्सिएको छ ।

इथोपियाको चर्चा किन आरम्भ गरिएको भने नेपालले पनि विपन्नको सूचीमा अब धेरै बसिरहनु छैन । त्यसै पनि विकासशीलमा देशमा उत्तरोन्नतिका निम्ति दुई वर्षको समय छ । विकासशीलमा स्तरोन्नति त सन् २०२६ मा हुन्छ तर नेपालको अर्थतन्त्र सुधारको भरपर्दो मार्गचित्र भने अझै बनिसकेको छैन । राजस्वको न्यून सङ्कलनले चुनौती थपेको छ । बढ्दो साधारण खर्चले सरकारी कोषलाई ऋणतिर धकेलेको छ । पुँजीगत बजेटको घट्दो आकारले पूर्वाधार विकासलाई साँघुरो बनाउँदै मात्र छैन, सरकारको न्यून पुँजीगत खर्चले निजी क्षेत्रको आर्थिक व्रिmयाशीलततामा समेत प्रतिकूल प्रभाव पारेको छ । यस्तो अवस्थामा नेपालको सम्भावनाको ठुलो क्षेत्र पर्यटन उद्योग भए पनि यो क्षेत्रलाई सुधार्ने पूर्वाधार हवाई सेवा भने अति सीमित छ । देशकै ध्वजावाहक नेपाल वायु सेवा निगमको अवस्था नाजुक छ । निजी क्षेत्र पनि बाह्य उडान गर्न सक्ने गरी प्रभावकारी रूपमा आउन नसक्दा बाहिरी विमान सेवाकै भर पर्नु परेको छ ।

नेपालको अर्थतन्त्रको ठुलो सम्भावना महत्वपूर्ण क्षेत्र पर्यटन नै हो । देशभित्रै व्यापक रोजगारी सिर्जना गर्न सकिने क्षेत्र नै पर्यटन हो, अरू उद्योगधन्दाका निम्ति छिमेकी दुई विशाल मुलुक भारत र चीनसँग नेपालले प्रतिस्पर्धा गर्न सक्दैन । दुई ठुला अर्थतन्त्रका छिमेकी मात्र होइन, बाँकी दुनियाँ कसैसँग पनि नभएको पर्यटकीय बजारको सम्भावना नेपालसँग छ । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालसँग मात्र छ । सगरमाथा मात्र छैन, विश्वका ठुला अग्ला हिमाल नेपालसँग मात्र छन् । पूर्व ताप्लेजुङदेखि लहरै हिमाल पश्चिम दार्चुलासम्म फैलिएका छन् । देशको उत्तरी भूभागका यी हिमशृङ्खला विश्वकै पर्यटकका निम्ति स्वर्गको अनुभूत गर्न सक्ने अनुमप अवसर हुन् । पदयात्राका निम्ति नेपाली पहाडी तथा हिमाली भूभाग र हिमशृङ्खला विश्वमै दुर्लभ छन् । शान्तिका प्रणेता गौतम बुद्धको देश नेपाल मात्रै हो । लुम्बिनी विश्वमै अग्रणी पर्यटकीय स्थलमा सुपरिचित छ ।

विश्वका ठुलो जनसङ्ख्या हिन्दुहरूका निम्ति आराध्यदेव मानिने पशुपतिनाथ नेपालसँग मात्र छ । पशुपतिनाथदेखि मुक्तिनाथलगायत हिन्दु देवदेवाधिका मठमन्दिर विश्वभर फैलिएका हिन्दुहरूका निम्ति एक पटक पुग्नै पर्ने स्थल हुन् । काठमाडौँ उपत्यकाको पुरातात्त्विक महत्वका मठमन्दिर, कला, संस्कृति विश्वका सबै पर्यटकका निम्ति त्यसै पनि खुला पाठशाला रहँदै आएका छन् । नेपालको तालतलैया, नदी, जैविक विविधता, रमणीय स्थल आदिले पूरै देशलाई आकर्षक रिसोर्टमा परिणत गरिदिएको छ तर नेपालको पर्यटन विकासका निम्ति चुनौतीका लामै शृङ्खला छन् । मूल समस्या त नेपालको हवाई सेवामै गएर ठोक्किएको छ । अन्तर्राष्ट्रिय उडानमा नेपालको हिस्सा पाँच प्रतिशत हाराहारीमा सीमित हुनु दुर्भाग्य हो ।

नेपालको हवाई क्षेत्रलाई सुधार नगरी देशको पर्यटन विकासको दीर्घकालीन मार्गचित्र कोर्नु केवल सपना मात्र हुन्छ । कोरोना महामारीले थला नबसाएको भए पर्यटन विकासका निम्ति नेपाल भ्रमणका अनेकौँ योजना अगाडि बढेका थिए । कोरोनासँगै नेपालको पर्यटन प्रवर्धनका धेरै योजना थला बसे । नेपालको मात्र होइन, (सन् २०१९ को अन्तिममा चीनको वुहानबाट फैलिएको) कोरोनाले संसारकै पर्यटन उद्योगलाई थला बसायो । सन् २०२३ मा विश्वको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ९.९ ट्रिलियन डलर पुग्यो । यो लभगभ सन् २०१९ कै हाराहारी हो । यो वर्ष सन् २०२४ मा भने विश्वको कुल गार्हस्थ उत्पादनमा पर्यटनको योगदान ११.१ ट्रिलियन डलर पुग्ने अनुमान छ । लक्ष्य अनुरूप प्रगति भयो भने विश्व पर्यटन उद्योगमा बल्ल सन् २०१९ को अवस्थालाई सन् २०२४ ले उछिन्ने छ । विश्व पर्यटन बजार विस्तारसँगै नेपाल पनि अगाडि बढ्न सक्ने अनेक सम्भावना छन् ।

नेपालमा पनि वार्षिक १० लाख पर्यटक आवागमनको तथ्याङ्क यतिबेला रहे पनि गुणस्तरीय पर्यटकको भने अभाव नै छ । २०७६ सालताका नै वार्षिक १२ लाख हाराहारी पर्यटक नेपाल भ्रमण गर्न थालिसकेका थिए तर कोरोना महामारीले प्रतिकूल अवस्था सिर्जना ग¥यो । आगामी आर्थिक वर्षको बजेटले वार्षिक पर्यटकको सङ्ख्या १६ लाख पु¥याउने लक्ष्य लिए पनि पूर्वाधारमा अझै समस्या छ । मूल समस्या हवाई क्षेत्रमै छ । १ जुलाई १९५८ मा स्थापना भएको नेपाल वायु सेवा निगम, स्थापनाको साढे छ दशकमा पनि फस्टाउन सकेको छैन । भ्रष्टाचारै भ्रष्टाचारका अनेक काण्डले सेवामा विस्तार गर्न सकेको छैन । व्यापक पूर्वाधार र सम्भावना भएर पनि नेपाल वायु सेवा निगमले जहाजको सङ्ख्या बढाउन सकेको छैन । नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घले राखेको कालो सूची हट्न नसक्दा पनि यो क्षेत्रमा उकुच परेको छ ।

नेपालभन्दा अझ पछि सन् १९६० मा स्थापना भएको थाइ विमानसेवाले संसारभर उडान भर्छ । थाइल्यान्डको मात्र नभएर दक्षिण पूर्वी एसियाकै पर्यटन विकासमा थाइ विमान सेवाको ठुलो योगदान छ । नेपालको पर्यटन विस्तारमा समेत थाइ विमानसेवा लामो समयदेखि सहयोगी बन्यो । लामो सेवा दिएको तर केही वर्षअघि मात्र बैङ्कक काठमाडौँ उडान स्थगित भएकोमा फेरि सञ्चालनमा आएको छ । थाइ सरकारको स्वामित्वको वायु सेवाको त्यो प्रगति र ख्याति प्रारम्भदेखि नै थियो । नेपाल वायु सेवा निगमको पनि कुनै बेला ख्याति कम थिएन । चार दशकअघि नै काठमाडौँदेखि पेरिस, लन्डन, हङकङ, टोकियो जस्ता विश्वकै आकर्षक गन्तव्यमा उडान थियो । त्यतिबेला विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोत नै पर्यटन र गलैँचा उद्योग थियो, अहिलेको जस्तो विप्रेणबाट विदेशी मुद्रा आउने थिएन ।

छयालीस सालको परिवर्तनपछि नेपालले खुला आकाश नीति अवलम्बन गरेर उड्यन क्षेत्र निजी क्षेत्रको प्रवेश पायो । कतिपय विमान सेवाले यो बिचमा असाध्य राम्रो गरेका छन् । आन्तरिक उडानमा बुद्ध एयरले व्यापक विश्वास जितेको छ र यति, श्रीलगायतका अरू पनि विमान सेवाले सेवा विस्तार गरेका छन् । संयुक्त लगानीको हिमालय एयर लाइन्सले सीमित बाह्य उडान भर्दै छ । नेपालको राष्ट्रिय ध्वजावाहकले भने यो तीन दशकमा सुनिश्चित गन्तव्य लिन सकेको छैन, सीमित आन्तरिक र बाह्य उडानमै अल्झिएको छ । अनेक भ्रष्टाचारका काण्डले थलिएको छ । कुनै पनि विमान खरिद गर्दा होस् वा भाडामा लिँदा होस्, अनियमिता नभएको खबर पाउनै कठिन भयो । उडान भर्न असम्भव चिनियाँ विमान ल्याएर संस्थामाथि भार थप्ने काम समेत भयो । सीमित विमानबाट असाध्य खुम्चिएर सेवा प्रवाह गरिरहेको नेपाल वायु सेवा निगमबाट देशका पर्यटन उद्योगलाई कसरी सेवा पुग्न सक्छ ? गम्भीर हुनै पर्ने बेला आएको छ ।

देश छोड्ने युवाको दैनिक लर्कोलाई थाम्ने हो भने नेपालको पर्यटन उद्योगलाई नवीन तवरले अब पुनर्जीवन दिनै पर्छ । नेपालले वार्षिक २०÷३० लाख पर्यटक ल्याउन सक्छ, त्यो सम्भावना छ । संसारभर फैलिएका नेपाली अब आफ्नो देशमा पर्यटक नै भएर पनि आउन चाहन्छन् । उनीहरूको सम्पर्क र बाह्य बसोबासलाई बजारीकरण गरेर पनि नेपालले पर्यटन क्षेत्रको विकास र विस्तार गर्न सक्छ । पर्यटन क्षेत्रम गैरआवासीय नेपालीको लगानी ल्याउन सक्छ । सहरमा केही ठुला होटलको विस्तार भए पनि गाउँसम्म पुग्ने पर्यटकीय पूर्वाधारको अझै अभाव छ । गाउँसम्म फैलिएको पर्यटनले मात्र नेपालको आर्थिक विकासको सम्भावनालाई दिगो रूपमा सम्बोधन गर्न सक्छ । गाउँबस्ती उजाडिएएको अहिलेको अवस्थालाई सम्बोधन गर्न सक्छ ।

नेपालको पर्यटन अर्थतन्त्र माथि उकास्ने हो भने राष्ट्रिय ध्वजावाहक वायु सेवा निगमको सुधार अब देशीय कार्यसूची बन्नै पर्छ । सरकारी स्वामित्वको यो संस्था यही रूपमा सुधार हुन सक्दैन । बाह्य लगानी, साझेदारी वा व्यवस्थापन करार आदिको उपयुक्त माध्यम सुधारको मार्गदिशा बन्न सक्छ । राष्ट्रिय ध्वजावाहकलाई बिरामी बनाएर जतिसुकै विमानस्थल थपे पनि उडान क्षेत्रले गति लिन सक्दैन । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल त बने तर तिनमा उडान भर्न सकस परेको छ । देशको ठुलो लगानी खेर गइरहेको छ । ऋण लिएर गरिएको लगानीको प्रतिफल नहुँदा साँवा र ब्याज बुझाउने समय दिनप्रतिदिन बढ्दै गएको छ । त्यसै पनि देशको कुल आन्तरिक तथा बाह्य ऋण २४ खर्ब रुपियाँ पुगिसकेको छ । 

व्यापक लगानीको उड्डयन पूर्वाधारमा राष्ट्रियध्वजावाहकसँग पर्याप्त जहाज थिए भने बजार खोज्न सजिलो हुने थियो । पूर्वाधारमा ऋण लिएर गरिएको लगानीको प्रतिफल चाँडो उठ्ने थियो । इथोपियाको राष्ट्रिय ध्वजावाहक होस् वा थाइ, ती सरकारी स्वामित्वका विमान सेवाले देशको पर्यटन अर्थतन्त्रमा ठुलो योगदान दिन सकेका छन्, हामी किन पछि ? अब गम्भीर विश्लेषण गरी उचित मार्ग नलिने हो भने अझै पछि पर्न कसैले रोक्न सक्ने छैन । देशभित्रै रोजगारीको सम्भवना सपना मात्र हुने छ ।