• १९ असार २०८१, बुधबार

नेपाल वायुसेवा निगमको ६६ औँ वार्षिकोत्सव

विदेशी मुद्रा आर्जनमा वायुसेवा

blog

राष्ट्रको समुन्नति र विकासका लागि पर्यटन महत्वपूर्ण माध्यम हो । पर्यटनलाई बढावा दिने मुख्य साधन यातायात हो । यातायातबिना पर्यटन विकासको कल्पनै गर्न सकिँदैन । यातायातको असुविधाकै कारणले गर्दा पहाडी क्षेत्रमा विकासको गति मन्द हुन्छ । यस्ता क्षेत्रमा यातायातका स्थल साधन विकट पहाडी क्षेत्रमा पु¥याउन कठिन र जोखिमपूर्ण हुन्छ । त्यस्ता क्षेत्रमा हवाई साधनको व्यवस्था गर्नु आवश्यक छ । हवाई साधनको व्यवस्था गर्नु पनि महँगो पर्छ । नियमित उडान गराउन विविध समस्याका कारणले गर्दा कठिन हुने भए पनि त्यस्ता देशमा स्थल यातायातभन्दा हवाई यातायात नै चाँडै व्यवस्था गर्न सकिन्छ । 

न्यून भूभाग मात्र सुगम र अत्यधिक भभाग दुर्गम रहेको हाम्रो राष्ट्रमा अझैसम्म पनि कतिपय सुगम मानिने ठाउँमा समेत यातायात सेवा पु¥याउन सकिएको छैन । हिमाली र पहाडी भेगमा पर्ने धेरै जसो स्थान यातायातका सुविधाबाट वञ्चित छन् । विकासको गतिलाई तीव्र बनाउने हो भने नेपालका हिमाली र पहाडी भेगका सबै ठाउ“मा यातायातको विस्तार गर्नु अत्यावश्यक छ । हिमाली प्रदेशमा राजमार्गको निर्माण गर्नुपर्ने प्रस्ताव भर्खरै आएको छ । सरकारको इच्छाशक्ति, विश्वसनीयता र जनपरिचालन हुने हो भने यो काम कठिन र असम्भव हुँदै होइन । नेपालको पर्यटन विकासमा यातायातका यस्ता पक्षले अहम् भूमिका खेल्न सक्छन् । 

नेपालको भूधरातललाई दृष्टिगत गर्दा हवाई–यातायातलाई पर्यटन प्रवर्धनका लागि प्रयोग गर्नु हाम्रो आवश्यकता र चुनौती दुवै हो । यसका लागि सरकारी नियन्त्रणको नेपाल वायुसेवा निगमलाई सबल बनाउनु पहिलो कर्तव्य हुन आउँछ । आन्तरिक तथा बाह्य पर्यटकलाई एक ठाउँबाट अर्को ठाउ“मा ओसारपसार गर्नु मात्र होइन, यातायातको सुविधा नभएका ठाउँमा उपभोग्य वस्तुको ढुवानी गर्नु पनि हवाई सेवाको कर्तव्य हो । हाम्रो जस्तो हिमालै हिमाल र पहाडै पहाडले भरिएको मुलुकमा विदेशी पर्यटक भित्र्याउन सक्नु र उनीहरूबाट विदेशी मुद्रा प्रशस्त आर्जन गर्न सक्नु हाम्रो राष्ट्रको प्रमुख कर्तव्य हो । यो कर्तव्य निर्वाह गर्ने प्रमुख माध्यम नै हवाई सेवा हो । पर्यटन उद्योग नै देशविकासको मेरुदण्ड हो । पर्यटन उद्योगको विकास पनि हवाई सेवाका क्रियाकलापमा नै निर्भर रहेकाले यसको उचित संरक्षण र व्यवस्थापन गर्नु अत्यावश्यक छ । अनि मात्र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न र राष्ट्रको उन्नति गर्न हामीलाई सजिलो पर्ने छ । 

एकातिर नीति निर्माण तहमा रहेका व्यक्तिहरूको अदूरदर्शिताको कारणले गर्दा आन्तरिक तथा बाह्य दुवै प्रकारका पर्यटकले समुचित सेवा पाउन सकिरहेका छैनन् भने अर्कातिर नेपालभित्रको आन्तरिक राजनीतिक द्वन्द्वबाहेक सिधा बाटो नपाएर पनि विदेशी पर्यटक नेपाल आउन पाइरहेका छैनन् । अहिले परिस्थिति केही फेरिएको र राजनीतिक परिस्थिति पनि केही सङ्लो भएकाले आगामी वर्षमा पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने आशा सबैमा पलाएको छ । नेपाल वायुसेवा निगमले विगत सात वर्षअघिदेखि दोहा उडान थालेको र विश्वका ठुला ठुला वायुसेवा निगमले उडान गर्ने दोहा र दमामस“ग सिधा हवाई सम्पर्क भएकाले युरोप र अमेरिकाका पर्यटक नेपाल आउन सजिलो भएको छ । अन्य देश भएर नेपालमा आउने पर्यटकलाई सबैभन्दा मह“गो भाडादर पर्न आए पनि पर्यटन आगमनमा वृद्धि हुने आशा पलाउनु पनि स्वाभाविकै हो । खाडी राष्ट्रमा काम गरिरहेका करिब १० लाख नेपाली मजदुरको आवतजावतमा पनि यो उडानले सुविधा पु¥याएको छ । 

दोहा, दुबई र दमामसँग सिधा हवाई सम्पर्क भइरहेको कारणले गर्दा विदेशी पर्यटकहरूले भारत हुँदै नेपाल आउनुपर्ने बाध्यता पनि हट्न गएको छ । राष्ट्रका लागि यसलाई ठुलो उपलब्धि मान्नु पर्छ । 

पर्यटन व्यवसायका लागि सबैभन्दा ठुलो वरदान बनेको हवाई सेवाले विश्वलाई साँगुरो पार्दै लगी एउटा सानो गाउँमा परिणत गराउन अहम् भूमिका खेलेको छ । यसैले गर्दा विश्वमा हवाई यात्रुको सङ्ख्यामा क्रमशः बढोत्तरी भइरहेको छ । अहिले प्रत्येक वर्ष दसौँ लाखभन्दा बढी व्यक्तिहरूले आन्तरिक हवाई यात्रा गरिरहेका छन् । हवाई सेवाकै कारणले पर्यटनलगायत सबै मुख्य बजारले उच्च वृद्धि हासिल गरेका छन् । हवाई सेवाकै कारणले चीन, हङकङ, इटाली र जर्मनीले आफ्ना उत्पादन दोब्बरकै सङ्ख्यामा वृद्धि गरिसकेका छन् । विश्व पर्यटन बजारको आम्दानीमा वृद्धि भई एक सय अरब डलरको हाराहारीमा पुगिसकेको छ । दक्षिण एसियाले कुल आम्दानीको एक प्रतिशत मात्र पाउन सके तापनि यसबाट युरोप र अमेरिकाको आम्दानीमा मनग्गे वृद्धि भएको छ । चीनले पनि उल्लेखनीय वृद्धिको अभिलेख राखिसकेको छ । नेपालले पनि हवाई सेवाबाट आय आर्जन गर्ने त गरिरहेको छ तर राजनीतिक द्वन्द्व, राजनीतिक हस्तक्षेप र समुचित व्यवस्थापनको अभावको कारणले गर्दा अपेक्षित लाभ लिन सकिरहेको छैन । विदेशी पर्यटकको सङ्ख्यामा गिरावट आई भारतबाट नेपाल आउने पर्यटकमा समेत प्रशस्त सङ्ख्यामा कमी आएकाले पनि नेपाललाई केही समस्या देखा परेको छ । अहिले वार्षिक सालाखाला १८० लाख डलर मात्र पर्यटन व्यवसायबाट नेपालले आम्दानी गर्ने गरेको छ । 

नेपालको पर्यटन व्यवसायलाई अग्रगति दिनका लागि नेपाल वायुसेवा निगम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, निजीस्तरका हवाई कम्पनीहरू तथा विभिन्न ट्राभल एजेन्सी, यातायात व्यवसाय, ट्रेकिङ एजेन्सी यातायात व्यवसायी र होटलहरूको महत्वपूर्ण भूमिका छ । अन्य विभिन्न सङ्घ संस्थाको पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा सम्बन्ध छ । सरोकारवाला निकायका बिचमा आवश्यक समन्वय र सामन्जस्य हुन नसक्दा त्यसले पर्यटन व्यवसायलाई असर पारेको छ । अस्वस्थ प्रतिस्पर्धाकोे कारणले आफ्नो लक्ष्यप्राप्तिका लागि कठिनाइ भइरहेको छ । सरकारी नीतिनिर्धारण गर्ने, चालकदल, हवाई कम्पनीमा काम गर्ने कर्मचारी, हवाई कम्पनीका मालिक, सरकारी निगमको व्यवस्थापन पक्षसँग सम्बन्धित व्यक्ति र उड्डयनसँग सम्बन्धित व्यक्तिका दृष्टिकोणमा समन्वय र सामन्जस्य ल्याउन नसकेसम्म (ट्रेकिङ एजेन्सी, नेपाल पर्वतारोहण सङ्घ, होटल एसोसिएटस्को, बीचको असामान्यजस्यता जस्तै) र राष्ट्रिय हितमा ती सबैलाई प्रयोग गर्न नसकेसम्म आन्तरिक र बाह्य दुवै पर्यटनको एवं पर्यटन व्यवसायको समेत भविष्य उज्ज्वल बनाउन कठिन पर्ने छ । 

नेपालको अधिकांश भूभाग पहाड र पर्वतले भरिएको छ । त्यसैले पनि यहाँ उड्डयनको विशेष महत्व छ । नेपालमा हाल ६० वटा विमानस्थल छन् र तीमध्ये २५ वटा विमानस्थलको कालोपत्र भइरहेको छ र अन्य ३५ वटा कच्ची विमानस्थल छन् । रातिको समयमा पनि उडान भर्न सक्ने सात वटा विमानस्थल छन् । ती सबै विमानस्थललाई संरक्षण गरेर समुचित ढङ्गले उपयोग गर्ने हो भने त्यसले नेपालको पर्यटन क्षेत्रलाई धेरै फाइदा पु¥याउने छ । आगामी दिनमा नेपालमा विदेशी पर्यटकको सङ्ख्या बढ्ने कुरा निश्चितप्रायः भएकाले विमानस्थललाई जुनसुकै समयमा पनि प्रयोग गर्न सकिने स्थितिमा राखिरहनु आवश्यक छ । त्यसबाहेक नेपालमा पूर्ण रूपले व्यवस्थित रहेको भैरहवा र पोखराको पूरै अध्ययन नगरी अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउ“दा राम्रोस“ग चलाउन नसक्नु र अब बन्ने चौथौ अन्तर्राष्ट्रिय विमानस्थल निजगढबाहेक (भारतको सिमानास“ग एयरपोर्ट बनाउ“दा हाल भोगिरहेको समस्या– जस्तै भैरहवा अन्तर्राष्ट्रिय एयरपोर्ट) भरतपुर, त्रिशूली, बनेपा, हेटौँडा जस्ता स्थानमा बनाउनु पनि आवश्यक छ । 

अर्कातिर नेपाल वायुसेवा निगमले पर्यटकको कमी हुने जुनसुकै मुलुकस“ग द्विपक्षीय हवाई सम्झौता गर्नुको सट्टा पर्यटक बढी हुने मुलुकस“ग बढी सम्बन्ध विस्तार गर्ने हो भने ४२ वटा मुलुकको सट्टा त्योभन्दा कम मुलुकस“ग भएको द्विपक्षीय हवाई सम्झौताले पनि नेपालको पर्यटन व्यवसायलाई ठुलो टेवा पुग्ने छ । नेपालका बारेमा समाचार सम्प्रेषण गर्दा नवीन पद्धति अनुरूप आकर्षक रूपबाट विदेशीलाई समाचार सम्प्रेषण गर्नु आवश्यक छ । विदेशमा रहेका निगमका कार्यालयको व्यवस्थापन र अन्य पक्षमा कुनै कमजोरी रहेका छन् भने तिनलाई सुधार गरेर ती कार्यालयमार्फत निगम र नेपालका विषयमा उचित र जानकारीमूलक समाचार सम्प्रेषण प्रचार प्रसार गर्न सकिन्छ । ती कार्यालयहरूको प्रभावकारी भूमिकाबाट पनि नेपालले प्रशस्त वैदेशिक मुद्रा आर्जन गर्ने सम्भावना रहन्छ । सरकारले पर्यटन उद्योगलाई मुलुकमा अन्य उद्योगसरह प्रेरणा, न्यायिक सुरक्षा र सुविधा उपलब्ध गराई पूर्ण मान्यता दिनु पर्छ एवं निजी क्षेत्रस“गको कार्यगत सम्बन्ध सुदृढ बनाउ“दै सरकारले मुलुकमा सर्वसाधारण जनता, उद्योग एवं पर्यटन क्षेत्रमा शान्ति सुरक्षाको प्रत्याभूति दिनु पर्छ । पर्यटनस“ग सम्बद्ध व्यावसायिक सेवालाई प्रस्ट रूपले परिभाषित गरी एकअर्काको क्षेत्रमा अनधिकार रूपमा गर्ने गरेका व्यावसायिक क्रियाकलापको अविलम्ब अन्त्य गराउनेतर्फ पनि सरकारले संवेदनशील हुनु आवश्यक छ । 

नेपालभित्र रहेका गन्तव्यस्थलमध्ये सम्बन्धित व्यवसायीबाट समुचित सम्भाव्यता अध्ययन गराई नया“ गन्तव्य स्थलको प्रतिवेदन तयार पारी तिनलाई प्रचारप्रसार गराउने हो भने त्यसले पनि धेरै फाइदा पु¥याउने छ । पर्यटन प्रवर्धन गर्दा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यलाई मात्र होइन, क्षेत्रीय प्रतिस्पर्र्धालाई पनि ध्यान दि“दै तदनुरूपको नीतिनिर्माण गर्नुका साथै अन्य सम्भावित मुलुकमा बजार प्रवर्धन गर्नु पर्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले (हाल जहाजहरूलाई पाकिङ गरेर राखेको स्थान) पेप्सीकोला तीरको पूर्वतर्फको खाली जग्गालाई साना तिना जहाजलाई उडान गर्न सक्ने गरी व्यवस्थित गर्न सकिन्छ भने गुहेश्वरीको भिरलाई सम्म पारी पार्किङका जहाज राख्न सकिन्छ । दक्षिण तर्फको हालको एयरपोर्टलाई लम्बाइतर्फ गरी ११ वटा विमान पार्किङ क्षेत्रबाट १५ देखि २० वटासम्म विमान व्यवस्थित तवरले राख्न सकिन्छ । पेट्रोल पम्पलाई तिनकुनेदेखि जडीबुटीसम्मको अन्डर ग्राउन्डमा राख्ने अथवा सिनामङ्गलतिर सार्न सकिन्छ । प्राधिकरणले यसतर्फ पनि तत्कालीन ध्यान पु¥याउनु आवश्यक छ । 

हाल सञ्चालन गर्दै आइरहेको धावन मार्गलाई लम्ब्याउन आवश्यक भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र सडक विभागमार्फत ध्यान दिई तीनकुनेबाट जडीबुटीसम्म अण्डर ग्राउन्ड भूमि मार्ग तत्काल तयार गर्नुपर्र्ने छ । आन्तरिक हवाई उडानमा यात्रुहरूको सुरक्षाको प्रत्याभूति दिनुका साथै निजी क्षेत्रबाट सञ्चालन हुने हवाई कम्पनीहरूलाई थप इजाजत दिनेतर्फ नियन्त्रण गर्ने र सरकारमा दर्ता नगरी अनधिकृत रूपले चलाइएका हवाई कम्पनीलाई कडा कारबाही गरिने र प्राधिकरणमा उडान र पार्किङ क्षेत्र अनुमति लिई र पार्किङ गर्नुपर्ने स्थानमा पार्किङ नगर्ने र उडान पनि नगरी निजी क्षेत्रका हवाई कम्पनीले कार्य गर्दै आइरहेकाले काठमाडौँ विमानस्थलमा पार्किङको चाप हु“दै गइरहेको छ त्यस कारण त्यस्ता निजी कम्पनीलाई जे जस्तो अनुमति लिएको छ सोही अनुसार कार्य गर्न लगाउनु प्राधिकरणको व्यवस्था हुनु जरुरी छ । यसो हुन सके आन्तरिक उडान सेवाबिचको अस्वस्थकर प्रतिस्पर्धा हट्न जाने छ । यसका लागि समयानुकूल, दिगो र दीर्घकालीन परिप्रेक्ष्यमा राष्ट्रिय पर्यटननीति बनाउनु अपेक्षित छ । 

निजी क्षेत्रका पर्यटनस“ग सम्बन्धित सङ्घ संस्थाको समानुपातिक प्रतिनिधित्वका आधारमा उच्चस्तरीय अधिकारसम्पन्न र नेपाल पर्यटन बोर्डस“ग त्यसले सामन्जस्य राखी काम गर्नु पनि आवश्यक छ । सरकारले सबैको सहमति र सामन्जस्यमा राष्ट्रिय पर्यटन नीति बनाई त्यसलाई कडाइका साथ लागु गर्ने हो भने नेपालमा पर्यटन क्षेत्रको विकास नहुने कुरै छैन ।