• १८ असार २०८१, मङ्गलबार

इलाका प्रशासन कार्यालयको सेवा प्रभावित

blog

सेवा पाउने प्रतिक्षामा इलाका प्रशासन कार्यालय टीकापुरका सेवाग्राही । तस्बिरः एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सिना

टीकापुर, असार १६ गते । इलाका प्रशासन कार्यालय टीकापुरको सेवा आइतबार दिनभर प्रभावित भएको छ । कार्यालयतिर आपूर्ति हुने ट्रान्सफर्मरमा खराबी आएपछि विद्युत आपूर्ति बन्द भएको छ । 

कार्यालयमा विद्युतको वैकल्पिक व्यवस्था नहुँदा ५०० जति सेवाग्राहीले दुःख पाएका छन् । लम्कीचुहा नगरपालिकाको कौवापुरबाट सेवा लिन आउनुभएका परु ओडले श्रीमानको परिचयपत्र बनाउन चौथो दिन भए पनि सेवा नपाएपछि फर्किन लागेको बताउनुभयो । 

उहाँहरुको हरेक दिन आउन जान गाडीभाडा मात्र २८० रुपियाँ लागिरहेको छ । यस्तै लम्कीचुहा नगरपालिका –३ चिसापानीका विष्णुकुमार शाहीले परिचयपत्र बनाउन अपाङ्ग नागरिकलाई लिएर तेस्रो दिन आउँदा पनि सेवा नपाएको बताउनुभयो । शाहीले भन्नुभयो, “दैनिक चार–पाँचसय नागरिकलाई सेवा दिने प्रशासन कार्यालयमा विद्युतको वैकल्पिक व्यवस्था नहुनु सरकारको लापरवाही हो, नागरिकले दुःख पाएका छन् तत्काल व्यवस्था हुनुपर्छ ।’

सरकारले कैलालीमा भदौबाट राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि प्रशासन कार्यालयमा सेवाग्राहीको भिड बढेको छ । सेवा लिनेमा ज्येष्ठ नागरिक बढी छन् । ज्येष्ठ नागरिकहरु टाढाबाट सहयोगीसहित कार्यालय आए पनि विद्युत नियमित नहुँदा सेवा पाउन कठिन भइरहेको छ । वर्षा सुरु भएपछि टीकापुरको विद्युत एकदमै अनियमित भइरहेको छ । 

विद्युत प्राधिकरण टीकापुर वितरण केन्द्रका प्रमुख कपिल जोशी ट्रान्सफर्मरमा आएको समस्या समाधान गर्न नसक्दा प्रशासनमा विद्युत आपूर्ति अवरुद्ध भएको र टीकापुरका विद्युतको क्षमताभन्दा माग भइरहेकाले बेला–बेला विद्युत सेवाअवरुद्ध हुने गरेको बताउनुहुन्छ ।

धान्नै नसकिने भीड

राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि परिचयपत्र बनाउनेको भीड लागेको छ । परिचयपत्र बनाउँदा प्रष्ट देखिने नागरिकता चाहिने भएकाले पुराना झुत्रा नागरिकताको प्रतिलिपि लिनेको सङ्ख्या पनि बढेको छ । नागरिकता फाँटमा नयाँ नागरिकता बनाउनेभन्दा प्रतिलिपि लिने धेरै आउन गरेको प्रशासकीय अधिकृत सर्वानन्द चपाईले बताउनुभयो ।