• १८ असार २०८१, मङ्गलबार

फरार रहेका पूर्व सांसद यादव पक्राउ

blog

पक्राउ पर्नुभएका पूर्व सांसद यादव ।

महेशकुमार दास  

जलेश्वर, असार १६ गते । विगत आठ वर्षदेखि कर्तव्य ज्यानमुद्दामा अभियुक्त रही  फरार रहेका पूर्व सांसद कौशलकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । 

मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा पूर्व प्रदेश सांसद यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता  प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जयसवारले बताउनुभयो ।  

महोत्तरीको सम्सी गाउँपालिका–५ स्थित हुलाकी सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको डिएल ३ सिएवाई ८६१५ नम्बरको स्काेरपियो गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको प्र. २–०२–००१ च ००४५ नम्बरको महेन्द्रा पिकअप गाडीले ठक्कर दिई भागेको घटनासम्बन्धी अनुसन्धान गर्ने क्रममा पूर्व सांसद यादव पक्राउ परेको प्रहरी नायब उपरीक्षक जयसवारले बताउनुभयो । 

स्काेरपियो गाडीको चालकसहित ३ जना घाइतेलाई उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको र ठक्कर दिने महेन्द्रा गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई चालकको नामथर वतन सोधपुछ गर्दा महोत्तरीको सोनमा गाउँपालिका वडा –५ खैरवनी (साबिक खैरवनी गा.वि.स. वडा नं.–०६) बस्ने ४५ वर्षीय कौशलकुमार यादव रहेको खुलेको प्रहरीले जानकारी दिएको छ । 

पूर्व सांसद यादवमाथि २०७२ भदौ २५ गते प्रेमबहादुर विकले दिएको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सञ्जयकुमार साहसमेत भएको कर्तव्य ज्यान मुद्दा दायर रहेको र महोत्तरी जिल्ला अदालत जलेश्वरमा पेस भई यादव हालसम्म फरार रहेकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९८ बमोजिम मुल्तबीमा थियो । 

फरार प्रतिवादी यादवलाई आवश्यक कारबाहीका लागि आइतबार महोत्तरी जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी नायब उपरीक्षक जयसवारले बताउनुभयो । 

२०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस क्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई आन्दोलनको क्रममा मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई कुटपिट गर्दा मृत्यु भएको थियो ।