• १८ असार २०८१, मङ्गलबार

फार्मेसी अभ्यासका लागि जिपेड कार्यक्रम

blog

फाइल तस्विर

गोरखापत्र अनलाइन

काभ्रे, असार १६ गते । कुशल फार्मेसी अभ्यासका लागि युवाहरुको सक्रियतामा काठमाडौं विश्वविद्यालयमा जिपेड कार्यक्रम सञ्चालन गर्न लागिएको छ । स्वास्थ्य क्षेत्रमा बढ्दै गएको औषधीको दुरुपयोगलाई रोक्न काठमाडौं विश्वविद्यालयको फार्मेसी विभागका विद्यार्थीले गुड फार्मेसी प्रयाक्टिस एजुकेसन (जिपिपिएड)  कार्यक्रम २०२४ सञ्चालन गर्न लागेका हुन् ।

अन्तर्राष्ट्रिय फार्मेसी विद्यार्थीको सङ्घ (इन्टरनेशनल फार्मेस्युटिकल स्टुडेन्ट फेडरेसन–एसिया प्यासिफिक रिजनल अफिस (आइपिएसएफ–एप्रो) को आयोजनामा सेप्टेम्बर २०२४ मा सञ्चालन हुन लागेको काठमाडौं विश्वविद्यालयका फार्मेसी विभागले जानकारी दिएको छ ।

‘कक्षा कोठाबाट अभ्याससम्म’ भन्ने मूल नारासाथ फार्मेसी क्षेत्रमा सैद्धान्तिक सिकाइ र व्यावहारिक प्रयोगबिचको खाडललाई कम गर्ने उद्देश्य राखी कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यक्रम संयोजक सौरभ शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, औषधी उत्पादन तथा यसको हेरचाहको गुणस्तर र प्रभावकारिता बढाउने कार्यक्रमले उद्देश्य राखेको छ ।

उक्त कार्यक्रमका लागि तयारी तीव्र बनाइएको कार्यक्रम संयोजक शर्माले बताउनुभयो । उहाँका अनुसार, कार्यक्रमका लागि सहयोगी दाताहरुको खोजी, कार्यक्रमबारे सम्बन्धित सरोकारावाला निकायहरुसँग छलफल, कार्यक्रमबारेमा जानकारी दिनेलगायत गतिविधि सञ्चालन हुनेछन् । 

तीन दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय फार्मेसी क्षेत्रका विशेषज्ञबाट गोष्ठी, कार्यशाला पूर्व–इभेन्टका रुपमा बहस, सचेतनामूलक, प्रतियोगितात्मक कार्यक्रम तथा मनोरञ्जनात्कमक गतिविधिहरु पनि हुनेछन् ।

कार्यक्रममा फार्मेसी क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित व्यक्तित्वबाट कुशल  फार्मेसीबारे ज्ञान लिने हेतुले नेपाललगायत अन्य एसियाली देशजस्तै भारत, पाकिस्तान, थाइल्याण्ड, श्रीलङ्का ताइवान, इण्डोनेसिया, मलेसिया, सिङ्गापुर, फिलिपिन्सलगायत विभिन्न देशका फार्मेसी सङ्कायका विद्यार्थीको सहभागिता रहनेछ । समृद्धि आचार्य जिपिपिएडको अध्यक्ष हुनुहुन्छ।