• १८ असार २०८१, मङ्गलबार

प्रशासन कार्यालयभित्र सेवाग्राहीको स्वास्थ्य परीक्षण कक्ष सञ्चालन

blog

अछाम, असार १६ गते । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको स्वास्थ्य परीक्षण कक्ष स्थापना गरेको छ । जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले कक्षको उदघाटन गर्नुभएको हो ।

कार्यालयमा सेवा लिन आउने सेवाग्राही तथा सर्वसाधारणलाई लक्षित गर्दै प्रशासन कार्यालय परिसरमै सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष सञ्चालनमा ल्याइएको प्रजिअ लम्सालले बताउनुभयो । यस कार्यक्रमले सेवाग्राही र जिल्ला प्रशासन कार्यालयसँगको सम्बन्ध सकारात्मक भएको महसुस गरेको उहाँले बताउनुभयो ।

यो कार्यक्रमअन्तर्गत लैङ्गिक हिंसा, बालविवाह र लागूऔषध दुर्व्यसनलगायत समस्या न्यूनीकरण गर्ने विषयमा सेवाग्राहीसँग छलफल गरिरहेको लम्सालले जानकारी दिनुभयो । कार्यक्रम प्रभावकारी बन्दै गएका बेलामा सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राखेर निरन्तर सेवा दिने गरी स्वास्थ्य परीक्षण गरिने भएको हो । प्रशासनमा सेवा लिन आएकी ८४ वर्षीया काली कुँवरको स्वास्थ्य जाँच गरेर अभियानको शुभारम्भ गरिएको हो ।

सेवा लिन आएका सेवाग्राहीलाई न्यूनतम जाँचसहित औषधि उपचार गरिने र सोमबारदेखि निरन्तर मधुमेह परीक्षण गरिने जिल्ला स्वास्थ कार्यालयका प्रमुख झनकराज ढुङ्गानाले बताउनुभयो । सेवाग्राहीको स्वास्थ्य जाँचका लागि जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, मङ्गलसेन नगरपालिकालगायतका स्थानीय तहबाट प्राविधिक सहयोग रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस