• १८ असार २०८१, मङ्गलबार

सरकारी तथा गैर सरकारी कार्यालयद्वारा प्रगति विवरण पेश

blog

प्रगति विवरण पेश गर्न आयोजना गरिएको कार्यक्रम । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, असार १६ गते । बाँकेको सरकारी तथा गैर सरकारी कार्यालय र सङ्घ संस्थाले आफ्नो वार्षिक कार्य प्रगति विवरण्म प्रस्तुत गरेका छन् ।

जिल्ला समन्वय समिति बाँकेद्वारा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा कार्यालयहरुले आफ्नो कार्य प्रगति प्रस्तुत गरेका हुन् । कार्यक्रममा जिल्ला समन्वय समिति बाँके र जिल्लास्थित स्थानीय तह, सङ्घीय र प्रदेश कार्यालय तथा गैर सरकारी सङ्घ संस्थाले आफ्नो कार्य प्रगति प्रस्तुत गरेको जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले बताउनुभयो । 

उहाँले जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेल, नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बाँकेका निमित्त प्रमुख राजु अर्याल, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमद खाँ, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुखलगायतले आफ्नो कार्यालयको कार्यप्रगति प्रस्तुत गरेको बताउनुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख चौधरीले जिल्लाको विकासका लागि समन्वय समितिले समन्वयको काम गर्दै आएकाले सबै कार्यालयले सहयोग गर्नुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय अधिकारी विक्रम पाण्डेले कार्य प्रगति प्रस्तुत गर्न बोलाइएको महत्वपूर्ण कार्यक्रममा कतिपय कार्यालयका प्रमुख वा प्रतिनिधि अनुपस्थित हुनुले उनीहरु जिम्मेवार र जवाफदेही बन्न नसकेको जनाउँदै यस्तो अटेरी गर्ने काम नगर्न चेतावनी दिनुभयो । 

उहाँले समन्वय समितिले आगामी दिनमा गर्ने यस्ता कार्यक्रममा जिल्लाका सबै कार्यालयले सहयोग गर्ने विश्वास व्यक्त गर्दै यसमा लापरबाही गर्नेलाई कारवाही हुने बताउनुभयो । 

बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले स्थानीय सरकारसँग समन्वयबिना भएको काम प्रभावकारी नहुने जनाउँदै सबैले सहयोग र समन्वय गर्नु पर्नेमा जोड दिनुभयो । समन्वय समितिले गरेको यस्तो कार्यक्रम निकै उपयोगी हुने उहाँको भनाइ थियो । 

सो अवसरमा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सिता कार्की, विभिन्न कार्यालयका प्रमुख, प्रतिनिधि लगायतको उपस्थिति थियो । जिल्लामा धेरै ठुलो सङ्ख्यामा सङ्घ र प्रदेश मातहतका कार्यालय र गैर सरकारी सङ्घ संस्थाहरु रहे पनि निकै कम सङ्ख्यामा मात्र उपस्थित भएर प्रगति विवरण पेश गरेको जिल्ला समन्वय समिति बाँकेले जनाएको छ ।