• १७ असार २०८१, सोमबार

रुपन्देहीमा २५ प्रतिशत रोपाइँ सम्पन्न

blog

बुटवल १८ दुबौलीमा आयोजना गरिएको रोपाइँ महोत्सवमा धान रोप्दै किसान । तस्बिरः छविलाल पाण्डे

छविलाल पाण्डे
बुटवल, असार १५ गते । 
रुपन्देहीमा असार १५ गतेसम्म २५ प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको छ । केही दिन अघि वर्षा भएपछि रुपन्देहीका विभिन्न ठाउँमा रोपाइँ सुरु भएको छ ।

कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख शिवप्रसाद अर्यालले जिल्लाका विभिन्न पालिकाहरूबाट आएको विवरण अनुसार २५ प्रतिशत खेतमा रोपाइँ भएको जानकारी दिनुभयो ।

रुपन्देहीमा रहेको कूल ८५ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ६५ प्रतिशत खेतमा मात्रै धान खेती हुने गरेको छ ।

जिल्लाको सैनामैना, बुटवल, देवदह, रोहिणी, सियारी, गैडहवा र शुद्धोधन  गाउँपालिकामा धेरै खेतमा रोपाइँ भएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार मर्चवारी र लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा रोपाइँ केही कम भएको छ ।

यसैगरी, असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा शनिबार बुटवल, सैनामैना र रोहिणी गाउँपालिकाका विभिन्न स्थानमा रोपाइँ महोत्सव भएको छ ।

बुटवल उपमहानगरपालिका १८ स्थित दुबौलीमा बुटवल उपमहानगरको आयोजनामा रोपाइँ महोत्सव सम्पन्न भएको छ ।

महोत्सवमा बुटवल नगर प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रीदेवी अर्याल, स्थानीय वडाका जनप्रतिनिधि, स्थानीय किसान लगायत ठुलो सङ्ख्यामा उपस्थिति रहेको थियो ।

त्यस अवसरमा बुटवल नगर प्रमुख पाण्डेले असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै गर्दा वार्षिक ४० अर्ब बढीको खाद्यान्न आयात गर्नुपर्ने अवस्थामा कमी ल्याउन सङ्घ, प्रदेश र स्थानीय पालिकाहरूले किसानमैत्री नीति ल्याउनुपर्ने बताउनुभयो ।

यसैगरी, कृषि ज्ञान केन्द्र रुपन्देहीले रोहिणी गाउँपालिकामा रोपाइँ महोत्सव आयोजना गरेको छ । रुपन्देहीकै सैनामैना नगरपालिकामा समेत रोपाइँ महोत्सव आयोजना गरेको छ ।

त्यस अवसरमा बोल्नुहुँदै नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले रोपाइँ महोत्सवलाई दही चिउरा खाने दिनका रूपमा मनाउने परम्परा पहिलेदेखि कायमै रहेको बताउँदै युवा पुस्तालाई संस्कृति संरक्षणका लागि पनि यो दिवसको जगेर्ना गर्नुपर्ने बताउनुभयो ।

उहाँले रोपाइँ महोत्सवमा मात्रै होइन, कृषकलाई यान्त्रीकरणमा कसरी जोड्ने, उनीहरूलाई कृषि क्षेत्रमा लागेर आय आर्जन गर्न सकिने विश्वास दिलाउन कसरी सकिन्छ भन्नेतर्फ अब ध्यान दिनुपर्ने बेला आएको बताउनुभयो ।