• १६ असार २०८१, आइतबार

समाजवादको आधार तयार पार्न सरकार लागेको छ : प्रधानमन्त्री

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्विरः प्रधानमन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौँ, असार १४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताउनुभएको छ ।

‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तक आज यहाँ लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताउनुभयो ।


“हजारौँ महान् शहिदहरू, हजारौँ बेपत्ता योद्धाहरू र लाखौँ क्रान्तिकारी योद्धाहरूले त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यी उपलब्धीलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ ।”

जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि बोहराले देश र जनताको मुक्ति र परिवर्तनलाई नै केन्द्रमा राखेर काम गर्नुभएको स्मरण गर्दै प्रधानमन्त्रीले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका पक्षमा भएको जनयुद्धको दौरानमा समेत उहाँको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो । 

एकदलीय निरङ्कुश पञ्चायती व्यवस्थाविरूद्ध जनताले गरिरहेको वीरतापूर्ण प्रतिशोधमाथि दमनस्वरूप २०४० सालको माघे सङ्क्रान्तिका दिन सिन्धुपाल्चोक जिल्लाको पिस्करमा सर्वसाधारण जनतामाथि निर्मम दमन र हत्या भएको थियो ।


स्थानीय समुदायले माघीको अवसरमा शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम भइरहँदा पञ्चायती शासकहरूले गरेको आक्रमणमा परी पिस्करमा इले थामी र वीरबहादुर थामी लगायतका योद्धाहरूले उच्च बलिदान गर्नुभएको थियो । 

उक्त घटनामा छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरूण नेपाल, सरेश नेपाल, गोपाल थपलिया लगायतका दर्जनौँ योद्धाले जेलनेल र यातनाको सामना गर्नुपरेको थियो । जगतबहादुर बोहरा उक्त घटनामा सख्त घाइते हुनुभएको थियो ।