• १६ असार २०८१, आइतबार

सुदूरपश्चिममा सबैभन्दा कम उत्तीर्ण

blog

शिक्षा विकास तथा समन्वय एकाइ डडेलधुराको कार्यालय । तस्बिर : पुष्कर भण्डारी

अमरगढी समाचारदाता

डडेलधुरा, असार १४ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा अनुसार सात वटै प्रदेशमध्ये सुदूरपश्चिममा सबैभन्दा कम परीक्षार्थी उत्तीर्ण भएका छन् । सुदूरपश्चिमबाट ५३ हजार ४४६ विद्यार्थीले एसइई दिएका थिए, जसमध्ये १७ हजार ३६ विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । 

यस्तै ३६ हजार ४१० अर्थात् ६८.१२ प्रतिशत ननग्रेडिङ भएका छन् । यीमध्ये १६ हजार ३७२ छात्र र २० हजार ३८ छात्रा छन् । सुदूरपश्चिमभरिमा ७९० विद्यार्थीले उत्कृष्ट नतिजा ३.६० देखि ४ जिपिए ल्याउन सफल भएका छन् । 

डडेलधुराबाट दुई हजार ५५७ परीक्षार्थीले एसइई परीक्षा दिएकोमा एक हजार १०३ छात्रा र एक हजार २५४ छात्रा रहेको शिक्षा समन्वय समितिले जनाएको छ । उत्तीर्ण हुने विद्यार्थीको प्रतिशतमा २०.८३ रहेको शिक्षा समन्वय समिति एकाइ प्रमुख नारदप्रसाद जोशीले जानकारी दिनुभयो । २ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या एक हजार ९६४ रहेको छ । उहाँका अनुसार ३.६ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या साधारणतर्फ २८ र प्राविधिकतर्फ एक गरी जम्मा २९ रहेको छ । 

कैलालीमा तिस प्रतिशत उत्तीर्ण 

टीकापुर समाचारदाताका अनुसार, कैलालीमा चार जना विद्यार्थीले ४.० जिपिए ल्याएका छन् । ४.० जिपिए ल्याउने विद्यार्थीमा दुर्गालक्ष्मी मावि अत्तरियाकी छात्रा नितिका अवस्थी, सत्यवती एकेडेमी अत्तरियाका निर्मला ठगुन्ना, वीरेन्द्र विद्या मन्दिर मावि टीकापुरका हेमन्त साउद र सैनिक आवासीय विद्यालयका विकास रावत हुनुहुन्छ ।

शिक्षा समन्वय एकाइ अधिकृत प्रतापसिंह धामीका अनुसार एसइईमा ३.६ देखि ४ जिपिए प्राप्त गर्ने विद्यार्थी ३३४ जना छन् । ३.२ देखि ३.५९ जिपिए प्राप्त गर्ने एक हजार २९९ जना छन् । २.८ देखि ३.१९ जिपिए प्राप्त गर्ने दुई हजार ७३ जना छन् । २.४० देखि २.७९ जिपिए प्राप्त गर्ने एक हजार ५१९ जना, २.०१ देखि २.३९ जिपिए प्राप्त गर्ने १८३ जना छन् ।

यस वर्ष १८ हजार ६० जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएकोमा पाँच हजार ४२८ जना उत्तीर्ण भए भने पाँच हजार ५० जना विद्यार्थी गे्रड सुधार परीक्षा दिन योग्य भएका छन् । सात हजार ५८० जना ग्रेड गणनामा परेनन् । नतिजा हेर्दा ३० प्रतिशत उत्तीर्ण, २८ प्रतिशत गे्रड वृद्धि योग्य र ४२ प्रतिशत कुनै गे्रडमा परेनन् । 

अछाममा अट्ठाइस प्रतिशत उत्तीर्ण

अछाम समाचारदाताका अनुसार एसइईको परीक्षामा अछाममा २८.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । चार हजार नौ सय परीक्षामा सहभागी भएकामध्येमा एक हजार ४१४ जना विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय एकाइ परीक्षा शाखा प्रमुख सुरेन्द्र बजगाईंले जानकारी दिनुभयो । 

तीन हजार ४८६ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । ३.६० जिपिएभन्दा माथि ल्याउने ११ जना छन् । जसमध्ये एक जना प्राविधिक धारतर्फ र अरू साधारण शिक्षाका रहेको बजगाईंको भनाइ छ । ३.२० जिपिएभन्दा बढी ल्याउने ११५ जना छन् । यस्तै २.८० जिपिएभन्दा बढीमा ५०४ जना, २.४० भन्दा बढी ल्याउनेमा ७१७ र दुई जिपिएमा ६७ जना उत्तीर्ण भएका छन् ।

बाजुरामा एक हजार उत्तीर्ण 

बाजुरा समाचारदाताका अनुसार २०८० सालको एसइईमा बाजुरामा एक हजार विद्यार्थी मात्र पास भएका छन् । परीक्षामा सहभागी भएका दुई हजार ८३४ विद्यार्थीमध्ये एक हजार उत्तीर्ण भएको शिक्षा विकास समन्वय एकाइका सूचना अधिकारी लालबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “बाजुरामा नियमित दुई हजार ८३४ विद्यार्थीमा एक हजार ४८७ छात्रा र  एक हजार ३४७ छात्र सहभागी भएका हुन् ।”

एसइई परीक्षामा सहभागीमध्ये एक हजार ८३४ जना एनजीमा रहेको सूचना अधिकारी विष्टले बताउनुभयो । एसइईमा बाजुराका ६७ विद्यालय सहभागी थिए ।