• १६ असार २०८१, आइतबार

दुग्ध किसानले सरकारसँग पसिनाको मूल्य माग गरेका हुन् : सांसद बाँस्कोटा

blog

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा धारणा राख्दै सांसद गोकुलप्रसाद बाँस्कोटा । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ, असार १३ गते । नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले दुग्ध किसानहरूले सरकारसँग भिख नभई पसिनाको मूल्य माग गरेको बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद बास्कोटाले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले दुग्ध किसानहरूको करिब एक वर्षदेखिको माग सम्बोधन गर्न नसकेको भन्दै दुग्ध किसानको पाँच अर्ब बढीको रकम भुक्तानी तत्काल गर्न ध्यानाकर्षण गराउनुभयो । उहाँले दुग्ध किसानहरूले न्याय पाउनका लागि अब सडक आन्दोलन नभएर फ्रान्सको जस्तो गरी ट्याक्टर, गाई भैँसी सडकमा छोड्नुपर्ने हो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले दुग्ध किसानहरूले सरकारसँग पाँच अर्ब बढी रकम भुक्तानी नदिँदा किसानले नङ्ग्रा ख्याएको, पसिना बगाएर पनि घर चलाउन समेत रुवाउनुपर्ने अवस्थाको अन्त्य सरकारले गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले वर्तमान सरकार दुग्धलगायत अन्य किसानहरूलाई समेत रुवाएर आफू हाँसेर बस्न नसुहाउने जिकिर गर्नुभयो ।

सांसद बाँस्कोटाले जनताको सरकार भएपछि जनताप्रति जबाफदेही हुनुपर्ने बताउनुभयो । उहाँले अहिले पनि दुग्ध विकास संस्थाले एक अर्ब ५५ करोडभन्दा माथि भुक्तानी गर्न बाँकी रहेको बताउनुभयो । उहाँले निजी क्षेत्र व्यापार र नाफामा मात्रै लिप्त हुँदा जबाफदेहिता नभएको बताउनुभयो ।

उहाँले लम्पी स्किनलाई लिएर अर्बौँको क्षति हुँदा समेत किसानहरूले बिमाको रकम लगायत गाईको मूल्य नपाएको जिकिर गर्नुभयो । उहाँले सरकारले एउटै वडामा ६ करोडभन्दा बढी रकम तिर्न बाँकी रहेको भन्दै यसमा सरकारको दृष्टिकोण माग गर्नुभयो ।

सांसद बाँस्कोटाले दुग्ध किसानका समस्या समाधानमा प्रधानमन्त्री, अर्थ र कृषि मन्त्रीबाट जवाफ माग गर्नुभयो । उहाँले  निजी क्षेत्र मुनाफा, व्यापार, आयात र कर छुट मात्रै पेस गर्नेभन्दा पनि उद्यमशीलतामा लगानी गर्ने आवश्यक रहेको बताउनुभयो । उहाँले पाउडर दुध बाहिरबाट ल्याउने, दुग्धजन्य पदार्थ पनि बाहिरबाट ल्याउने नीति के हो ? भन्दै सरकारलाई प्रश्न गर्नुभयो ।

उहाँले  देशमा उत्पादन भएकाले वस्तु पुग्दा समेत बाहिरबाट आयात गर्नुपर्ने आवश्यकता नभएको बताउनुभयो । उहाँले दुग्ध विकास संस्थानमा ११ सय मेट्रिक टन धुलो दुग्ध, ८५० मेट्रिक टन मखन एक करोड ४५ लाखभन्दा बढीको मौज्दातमा बसेको बताउनुभयो । उहाँले सरकार अनुदान पनि नदिने र दुग्ध विकास संस्थान सुधार गर्न नचाहेको आरोप लगाउनुभयो ।

उहाँले सरकारले दुधको भुक्तानी नदिँदा किसानहरू मल, बीउ, जनजीवन धान्न र औषधीहरू किन्न पैसाको अभाव र पीडामा रहेको बताउनुभयो । उहाँले जनता दुःखमा पर्दा सरकार रमिता हेरेर बस्न नमिल्ने बताउनुभयो ।

सांसद बाँस्कोटिाले दुग्ध विकास संस्थानको क्षमता विकास, स्टोरेज, वितरण प्रणाली, कर्मचारी नियुक्ति अधिक दरबन्दी मिलान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारको नेपाल प्रहरी, नेपाल आर्मी जस्ता संस्थाहरूमा दुग्ध अनिवार्य रूपमा दुग्धजन्य पदार्थहरू जाने कुरा, चक्लेट उद्योगहरू सञ्चालन, धुलो दुग्ध उत्पादन गरी मुलुकभित्रका उद्योगलाई प्रवर्द्धन गर्ने विषयमा सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।