• १६ असार २०८१, आइतबार

स्पर सुरक्षाको तयारी

blog

सप्तकोशी नदीको पूर्वी तटबन्ध स्परहरुमा कटान रोक्न राखीएका माटो भरिएका बोराहरु । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र, असार १३ गते । बर्खासँगै सप्तकोशी नदीको पूर्वी तटबन्ध क्षेत्रमा सम्भावित खतरा रहेका स्परहरुमा माटो, बालुवा भरिएका बोराहरु तयारी अवस्थामा राखिएको छ । पानीको चाप पर्ने स्परहरुमा कटान रोक्न माटो र बालुवा भरिएका बोराहरु तयारी अवस्थामा राखिएको हो । 

कोशी टप्पु वन्यजन्तु आरक्षको उत्तरी सीमा धरहरा टपनदेखि सालबन्दी क्षेत्रसम्म रहेका स्परहरुमा माटो भरिएका बोरा तयारी अवस्थामा राखिएको छ । कोशी प्रोजेक्टको जलसंसाधन विभागले कोशीमा हुने कटान रोक्न स्परहरुमा माटो भरिएको बोरा राखेको तटबन्ध मर्मत सम्भारको काम गर्दै आउनु भएका स्थानीय मोहन मण्डलले बताउनुभयो । उहाँका अनुसार पानीको चाप रहेको स्परमा कटान भई हाले तत्काल बोरा जाली हाल्न माटो, बालुवा भरीएको बोरा र जाली तयारी अवस्थामा राखिएको छ । पानीको चाप स्परमै ठोकिएर मध्य भागतिर फर्कन गई कटान रोकिने हुँदा बेलैदेखि स्पर मजबुत राख्न वालुवा भरिएका बोरा तयारी अवस्थामा राखिएको हो ।  

कोशीमा केही दिन यता पानीको बहाव उतारचढाव कायम रहेकाले नदीले धेरै स्थानमा सामान्य कटान गर्न सक्ने भएकाले रोकथाको लागि तयारी अवस्थामा माटो भरीएको बोरा राखिएको छ । नदीको सम्भावित क्षति रोक्न पूर्वी तटबन्ध सुरक्षाको काम गर्दै आएका भारतीय प्राविधिकहरुले बताएका छन । अहिले कुनै खतरा नभए पनि मर्मत गर्ने ठाउँमा प्रोकोपाइन, तारजाली र बोरामा माटो तथा बालुवा हालेर राख्ने काम गरिएको छ । 

सुनकोशी, दुधकोशी, इन्द्रावती, तामाकोशी, अरुण, तम्मर, लिखु सहायक नदी मिसिएर बग्ने सप्तकोसी नदीमा वर्षेनी आउने बाढीले स्पहरु कटान गर्दै आएको छ । पानीको दबाब पुर्वी तटबन्धको स्पर नम्बर २५ः२५, २५ः ५७, २६ः००, २६ः४०, २६ः८८ मा बढी पानीको चाप पर्दै आएको छ । चतराको सात नम्बर स्पर (करम खोला) बाट पुल्ठेगौडामा पानीको केहि भाग ठोकिएर तेह्रहड्डीको नोजमा ठोक्किएपछि सिधै राजाबासको २५ः२५ स्परमा पानीको चाप पर्ने गरेको छ । पानीको चाप ज्यादा पर्ने स्परहरु राजाबास क्षेत्रको २४ः१० देखि २७ः८८ सम्म सात वटा स्परमा सम्भावित कटान रोक्न बोरा भरेर राखिएको हो ।

पूर्वी तटबन्धको राजावासदेखि सालबन्दी क्षेत्रमा थप दैनिक निगरानी समेत गरिदै आएको छ । तटबन्ध र स्परहरुमा कटान लागे बोरामा भरिएको बालुवा लाइलनको जालीमा हालेर तत्काल कटान भएको ठाउँमा हालिने गरिन्छ । 

प्रत्येक वर्ष स्परहरुमा हुँदै आएका कटान नियन्त्रणका लागि जलसंसाधन विभागले काम गर्दै आएको छ । बर्खामा दैनिकजसो कोशीको वस्तुस्थिति अध्ययन गर्दै निगरानीका साथ तटबन्ध र स्पर मर्मतको कार्य जलसंसाधन विभागले गर्दै आएको हो । कोशी प्रोजेक्ट अन्तर्गत चक्र्रघट्टी सब डिभिजन, राजाबास सबडिभिजन, मधुवन सबडिभिजन, कुशाह सबडिभिजनले कोशी व्यारेज देखि चतरासम्म हेर्दै आएको छ । 

केहो स्पर ? 

कोशी तटवन्धको सुरक्षाको लागि तटवन्ध सँग जोडेर तटवन्ध अगाडि रहेको ढुङ्गा, माटो, वालुवा, तार जालीले बनाएको (आग्लो) बान नै हो स्पर । स्परहरुमा पानि ठोक्किएर तटबन्धमा पानीको बहाव आउनबाट रोक्ने काम स्परले गर्छ । स्परमा ठोकिएर पानी बिच कोशीतिर जाने गर्छ ।