• १६ असार २०८१, आइतबार

खाम्चेलिङमा पहिरो, मध्यपहाडी राजमार्ग पुनः अवरुद्ध

blog

मध्यपहाडी राजमार्ग अनतर्गत पाँचथरको थर्पु च्याङथापु खण्डमा गएको पहिरो ।

राधा लुइटेल 

फिदिम, असार १३ गते । पाँचथरको याङवरक-४ थर्पुमा पहिरो जाँदा पुष्पलाल मध्यपहाडी राजमार्ग पुनः अवरुद्ध भएको छ । थर्पुस्थित खाम्चेलिङ डाँडाको चट्टान पहिरो बनेर बग्दा यो राजमार्ग अवरुद्ध भएको हो । 

खाम्चेलिङमा बुधबार राति पहिरो गएको थियो । उक्त सडकको ओयाम फलैंचा खण्ड अन्तरगत याङवर २ फलैंचामा गएका पहिरोका कारण उक्त सडक ११ दिनसम्म अवरुद्ध भएको थियो । उक्त सडकको पहिरो ११ दिन लगाएर असार १२ गते पन्छाइए पनि पुनः थर्पुमा गएको पहिरोले सडक अवरुद्ध भएको हो ।

"सडकको १५-२० मिटर माथि देखि खसेको चट्टान सडकमा थुप्रेको छ, ठुलो पहिरो गएका कारण पन्छाउन समय लाग्छ,सडक खुल्न कम्तीमा ७ दिन लाग्नसक्छ," गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङबोले भन्नुभयो ।

पहिरोका कारण याङवरक गाउँपालिका वडा नम्बर १,२ र ३ का नागरिकलाई पालिका केन्द्रसम्म आउन सकेका छैनन् । यस्तै त्यस स्थानसम्म दैनिक उपभोग्य वस्तु लैजान पनि समस्या भएको छ । खोम्चेलिङ पहिरोको क्षतिको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला,प्रहरी नायव उपरीक्षक हेमन्तबहादुर क्षेत्री,गाउँपालिका अध्यक्ष भीमबहादुर योङया, उपाध्यक्ष बाबा मेन्याङवो र प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेल लगायतले निरीक्षण गर्नुभएको छ ।

यसैबिच, असार २ गतेदेखि जारी वर्षासँगै गएको पहिरोका कारण विस्थापित भएका ६४ घर परिवारका करिब ३ सय नागरिकलाई प्रारम्भिक राहत दिइएको छ । याङवरक गाउँपालिका र रेडक्रस सहितका संस्थाले विस्थापित परिवारका लागि चामल,पाल,नुन,तेल र दाल लगायतका सामग्री उपलब्ध गराएको हो ।

जनप्रतिनिधि र कर्मचारीले ओयाम पुगेर यत्तिका सामग्री उपलब्ध गराएको याङवरक गाउँ‘ पालिका उपाध्यक्ष बाबा मेन्याङ्बोले जानकारी दिनुभयो । उहाँका अनुसार याङवरक २ र ३ मा मात्रै बाढी पहिरोका कारण ९४ घर परिवार विस्थापित भएका छन् ।

वडा नम्बर ३ मा ५२ र वडा नम्बर २ मा ४२ घरका परिवार विस्थापित भएको उहाँले बताउनुभयो । याङवरक ३ ओयाम र वडा नम्बर २ फलैँचाका पुरै र वडा नम्बर १ च्याङथापुका केही स्थान पहिरोको जोखिममा छन् ।

पहिरोका कारण विस्थापित परिवारलाई आफन्त र नजिकका सुरक्षित बस्तीमा सारिएको छ । खोलामा आएको बाढीले ओयाम –च्याङथापु खण्डमा सोही राजमार्गका ओयाम र फलाम खोलाका पुल बगाएको छ ।