• १५ असार २०८१, शनिबार

निबन्ध लेखनमा ईशा पहिलो

blog

काठमाडौँ, असार १३ गते । नेपालस्थित पाकिस्तानी दूतावासले ११ औँ वार्षिक निबन्ध लेखन प्रतियोगिता तथा सातौँ वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न गरेको छ । 

‘दक्षिण एसियाको आर्थिक विकासमा महिलाको भूमिका’ विषयक निबन्ध लेखन प्रतियोगितामा विश्व निकेतन माध्यमिक विद्यालयकी छात्रा ईशा बराल प्रथम हुनुभएको छ । उहाँलाई स्वर्ण पदक, प्रमाणपत्र र नगद ४० हजार रुपियाँले सम्मानित गरियो । तिलिङ्गाटार माध्यमिक विद्यालयका छात्र मोहित वाग्ले दोस्रो हुनुभयो । उहाँलाई रजत पदक, प्रमाणपत्र र ३० हजार रुपियाँ नगदसहित सम्मान गरियो । त्यस्तै सोही विद्यालयका छात्र श्रीशान्त श्रेष्ठले तेस्रो स्थान हासिल गर्नुभयो । उहाँलाई कांस्य पदक, प्रमाणपत्र र २५ हजार रुपियाँसहित सम्मानित गरियो । प्रतियोगितामा सहभागी १८१ विद्यार्थीमध्ये १२ जनालाई सान्त्वना पुरस्कारस्वरूप जनही पाँच हजार रुपियाँसहित सम्मानपत्र प्रदान गरिएको छ ।

यस्तै ‘दक्षिण एसियाली देशका लागि आर्थिक विकास र सामाजिक उत्थानमा क्षेत्रीय सम्पर्क सञ्जालको महत्व’ विषयक वक्तृत्वकला प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयकी छात्रा वर्षाकुमारी रावत प्रथम हुनुभयो । उहाँलाई स्वर्ण पदक, प्रमाणपत्र र ४० हजार रुपियाँ प्रदान गरियो । नेसनल ल क्याम्पसकी छात्रा सोनिका न्यौपाने दोस्रो हुनुभयो । उहाँले रजत पदक, प्रमाणपत्र र नगद ३० हजार रुपियाँ प्राप्त गर्नुभयो । सेन्ट जेभियर कलेजका छात्र वीरेन्द्र श्रेष्ठले तेस्रो स्थान हासिल गर्दै कांस्य पदक, प्रमाणपत्र र नगद २५ हजार रुपियाँ प्राप्त गर्नुभयो । प्रतियोगितामा सहभागी विद्यार्थीमध्ये १३ जनालाई सान्त्वना पुरस्कारस्वरूप जनही पाँच हजार रुपियाँसहित सम्मानपत्र प्रदान गरियो ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राध्यापक भोला थापा र नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले पुरस्कार प्रदान गर्नुभयो । उपकुलपति थापाले यस्ता प्रतियोगिताले सुनौलो भविष्य निर्माण गर्न नेपाली विद्यार्थीलाई लाभ पुग्ने बताउनुभयो । पछिल्लो समय गाउँबाट सहर र सहरबाट बाह्य मुलुकमा बसाइँ सर्नेको सङ्ख्या बढ्दो रहेको बताउँदै उहाँले समाजका लागि केही गर्न सक्ने सम्भावना बोकेका बौद्विक शक्तिसमेत बाहिरिनु चिन्ताको विषय हो भन्नुभयो । राजदूत हास्मीले प्रतियोगितामा सहभागी विद्यार्थीको प्रतिभाको प्रशंसा गर्दै भविष्यका चुनौतीलाई आत्मसात् गर्न आह्वान गर्नुभयो ।