• १२ असोज २०८१, शनिबार

तनहुँ र लमजुङमा रासायनिक मलको अभाव नहुने

blog

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय दमौलीमा मौजात रहेको मल । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असार १० गते । तनहुँ र लमजुङका कृषकले धान तथा मकै खेतीका लागि रासायनिक मलको अभाव झेल्नु नपर्ने भएको छ । आवश्यकता अनुसारको मल भित्रिसकेको र मल आउने क्रम जारी रहेकोले रासायनिक मल अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय दमौलीले जनाएको हाे ।

कृषि सामग्री लिमिटेडले तनहुँ र लमजुङ जिल्लाका कृषकका लागि पालिकाले तोकेका कृषि सहकारी सस्था मार्फत मल वितरण गर्दै आएको छ । कृषि सामग्री कम्पनीले बजार माग अनुसार रासायनिक मल ल्याउन नसक्दा विगत वर्षमा किसानले मलको अभाव झेल्नुपरेको थियो । रासायनिक मलको सबैभन्दा धेरै माग असार हुने र माग अनुसारको मल आइरहेको र आउने क्रम जारी रहेकोले अभाव नहुने कृषि सामग्री लिमिटेड तनहुँका प्रमुख दिनेश शर्माले जानकारी दिनुभयो । शर्माले भन्नुभयो, "विगतका वर्ष मल लिन किसान चर्को घाममा घटौं लाइन लगाएर बस्नु पर्थ्याे हाल माग अनुसारको आएकोले समस्या नपर्ने भएको छ ।"

शर्माका अनुसार युरिया एक हजार छ सय ५० टन, डीएपी चार सय तीन, टन पोटास ५३ टन र चुना तीन टन भित्रिएको छ र थप मल आउने क्रममा रहेकोले छ । तनहुँका लागि माग  युरिया एक हजार एक सय ४०, डिएपी दुई सय ९५ र पोटास ३६ छ । लमजुङको लागि युरिया पाँच सय टन, डिएपी एक सय आठ टन र पोटास १७ टन माग छ । 

कम्पनीसँग रहेको मौज्दातले माग धानेकोले अभाव नहुने देखिएको छ । गण्डकी प्रदेश सरकारले कोटा निर्धारण गर्न बाँकी रहेकोले वितरण भने गरिएको छैन ।  गत वर्ष चार प्रकारका मल गरी एक हजार चार सय १८ टन मात्रै मल आएकोले अभाव भएको थियो । तनहुँमा ९५ र लमजुङमा ५२ गरी एक सय ४७ वितरण केन्द्र छन् ।

कृषि ज्ञान केन्द्रले आवश्यकता अनुसारको पालिकालाई कोटा निर्धारण गर्ने र पालिकाले सोही अनुसारको  केन्द्र कोटा निर्धारण गरी चिठी लेखेर पठाएपछि मल प्रदान गरिने शर्माले जानकारी दिनुभयो। गत वर्षभन्दा यो वर्ष धेरै मल आएकोले समस्या नदेखिएको शर्मा बताउनुहुन्छ । कुन ठाउँमा कस्तो आवश्यकता छ भनेर पालिकाको उपप्रमुख-उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कृषि शाखाका प्रमुख रहेको टिमले प्राथमिकीकरण गरी कोटा छुट्याउने लिमिटेडले जनाएको छ ।