• ३० वैशाख २०८३, बुधबार

बजेटको प्राथमिकतामा कृषि र सडक सञ्जाल

blog

हरि कोइराला

उर्लाबारी, असार १० गते । मोरङको ग्रामीण क्षेत्रका पालिकाहरूले कृषि र सडकलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् । सोमबार पथरीशनिश्चरे नगरपालिकाका प्रवक्ता नवीन कार्कीले ८५ करोड ४१ लाख ८ हजार रुपियाँको बजेट नगर सभामा प्रस्तुत गर्नुभएको हो । 

पथरीशनिश्चरे २ को सिनभिलेज पार्टी प्यालेसमा भएको १५ औँ नगर सभामा कार्कीले चालु आव ०८१-०८२ का लागि नगरले सङ्घीय सरकार वित्तीय समानीकरणबाट १६ करोड ९१ लाख, सङ्घीय सरकार विशेष अनुदान १ करोड ५० लाख, सङ्घीय सरकार ससर्त अनुदान पुँजीगत २ करोड ३५ लाख, सङ्घीय सरकार ससर्त अनुदान चालु २७ करोड १० लाख, सङ्घीय सरकार राजश्व बाँडफाँड १२ करोड ५९ लाख विज्ञापन करबाट १ लाख रुपियाँ प्राप्त हुने अनुगमन गरिएको छ । 

यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ८ लाख ६४ हजार, प्रदेश सरकार ससर्त अनुदान पुँजीगत १ करोड ६ हजार, प्रदेश सरकार सवारी साधन करबाट प्राप्त हुने १ करोड ४६ लाख ८७ हजार, प्रदेश सरकार ससर्त अनुदान १५ लाख २८ लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै प्रदेश सरकारबाट अनुदान ५ करोड ७९ लाख ५९ हजार र आन्तरिक आम्दानीबाट ६ करोड ६० लाख रुपियाँ प्राप्त हुने अनुमान गरेको छ ।  उप प्रमुख देवीमाया काफ्ले अनुपस्थित भएपछि प्रवक्ता कार्कीले बजेट पेस गर्नु भएको हो । 

यस्तै खर्च तर्फ चालु खर्च १३ करोड ४५ लाख,कार्यक्रम खर्च, २ करोड ६३ लाख,पुँजीगत तथा कोष व्यवस्थापनका लागि २० करोड ५१ लाख २८ हजार, आर्थिक विकास १ करोड ४५ लाख, सामाजिक विकास तर्फ ४ करोड २५ लाख, वन वातावरण तर्फ १५ लाख, सुशासन र संस्थागत विकासतर्फ १३ लाख, वडा पुँजीगत ६ करोड ३० लाख, न्यायिक समिति २० लाख ससर्त र समपूरक अनुदान खर्च ३६ करोड ४३ लाख ८० हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ । आव २०८०-०८१ मा ७८ करोड ९१ लाख ७५ हजार २४३ रुपियाँको बजेट प्रस्ताव गरेको पथरीशनश्चरे नगरपालिकाले अनुमान गरे भन्दा १० करोड ७६ लाख ७९ हजार रुपियाँ मात्र आम्दानी गर्न सक्यो । 

कानेपोखरीको बजेट झण्डै ८ करोड बढ्यो

कानेपाखेरी गाउँपालिकालेले ६५ करोड ५७ लाख २५ हजार रुपियाँको बजेट गाउँ सभामा पेस गरेको छ । पालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले १६ औँ गाउँभामा बैङ्क मौज्दात ३ करोड रुपियाँ र चालु आवको भुक्तानी दिनु पर्ने दायित्व ४ करोड सहित सङ्घीय वित्तीय समानीकरण अनुदानबाट १२ करोड ८८ लाख, सङ्घीय ससर्त अनुदान २४ करोड ३९ हजार, सङ्घीय राजश्व बाँडफाँड १ करोड २६ लाख सङ्घीय समपुर र विशेष अनुदान ३ करोड प्रदेश समानीकरण अनुदान ८१ लाख ३४ हजार, प्रदेश राजश्व बाँडफाँड ५२ लाख २९ हजार, प्रदेश ससर्त अनुदान र प्रदेश समपूरक अनुदान १ करोड ५९ लाख २३ हजार घरजग्गा रजिस्ट्रेसन र वडाबाट प्राप्त हुने २ करोड ५० लाख र खोला ठेक्काबाट २ करोड २० लाख आम्दानी हुने अनुमान गरिएको छ ।

कानेपोखरीले गत वर्षभन्दा करोड कमीको बजेट अनुमान गरेको छ । गाउँपालिकाले कृषि र पशुपालनका लागि किसानको बाली बिमा, पशुमा कृत्रिम गर्भाधान, बिमा, बिउँ र कृषि यान्त्रिकरणमा विशेष जोड दिएको छ । 

लेटाङको झण्डै १५ करोडले घट्यो बजेट

लेटाङ नगरपालिकाले ६० करोड ८५ लाख ५७ हजार रुपियाँको अनुमानित आय प्रस्तुत गरेको छ । नगर सभामा पालिकाका नगर उप प्रमुख कृष्णकुमारी निरौलाले आन्तरिक आयबाट ३ करोड ७१ लाख ५० हजार, राजश्व बाँडफाँडबाट १७ करोड ७२ लाख १५ हजार, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट ३६ करोड ८ लाख ७० हजार, प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट २ करोड ९८ लाख ४९ हजार र अन्य अनुदान ३५ लाख रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । आर्थिक वर्ष ०८०-८१ मा ७५ करोड ९ लाख ७ हजार रुपियाँको अनुमानित बजेट पेस गरेको लेटाङले आगामी आवका लागि झण्डै १५ करोड बजेट कम अनुमान गरेको छ । 

रतुवामाईमा कृषि र सडक सञ्जाल बिस्तारमा जोड 

दक्षिणी मोरङको रतुवामाई नगरपालिकाले आगामी आवका लागि ७८ करोड ९० लाख ३३ हजार रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । स्थानीय विश्वनाथ मन्दिरमा नगरका  उपप्रमुख दमयन्तादेवी चुँडाले १४ औँ नगर सभामा बजेट प्रस्तुत गर्नु भएको हो । आफ्नो भूगोल पूर्ण रूपमा कृषि क्षेत्र रहेको नगरपालिकाले कृषि र सडक सञ्जाल बिस्तारलाई प्राथमिकता दिएको छ । नगरका प्रवक्ता भुलबहादुर कार्कीका अनुसार सबै किसानलाई सिँचाइको विद्युत महसुल निःशुल्क, एम्बुलेन्स र शव वाहन निःशुल्क,क्याम्पस पढ्न चाहने बुहारीलाई निःशुल्क शिक्षा, ८० वर्ष उमेर माथिका लाई प्रति महिना १ हजार पोषण खर्च,विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा र सबै सरकारी विद्यालयको पुरानो जस्ता हटाई एउटैको जस्ता लगाइदिने कार्यक्रम सार्वजनिक गरिएको छ । नगरले फोहोर व्यवस्थापन र विपदमा जेसीवी निःशुल्क प्रयोग गर्न दिने भएको छ । 

मिक्लाजुङमा कृषि र पशुपालनलाई प्राथमिकता 

यस्तै उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिकाले ७७ करोड ५० लाख ७५ हजार ५०० रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । बजेटको ४३ करोड ६ लाख १९ हजार रुपियाँ चालु खर्चमा र ३४ करोड ४४ लाख ५६ हजार ५०० रुपियाँ पुँजीगत खर्चमा विनियोजन गरेको छ । 

पालिकाको १४ औँ नगर सभामा बजेट प्रस्तुत गर्दै  उपाध्यक्ष दिनेश पौडेलले कृषि तर्फ ५५ लाख ५७ हजार ५०० रुपियाँ खर्च गर्ने र पशुपालन तर्फ २९ लाख रुपियाँ खर्च गर्ने प्रस्ताव गर्नुभयो ।