• १२ मंसिर २०८१, बुधबार

सडक कालोपत्रे भएपछि माझफाँटवासी खुसी

blog

कालोपत्रे गर्न प्राइमकोर्ट बिछ्याइएको सडक । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, असार १० गते । डेढ दशकअघि मार्ग खुलेको कच्चि सडक कालोपत्रे भएपछि माझफाँटवासी खुसी भएका छन् । कच्ची सडकका कारण हिलो र धुलोका कारण सास्ती भोगेका म्याग्दीको बेनीदेखि नजिक रहेको पर्वतको जलजला गाउँपालिकाको माझफाँटका स्थानीयहरु सडक कालोपत्रे योजना सुरु भएपछि खुसी भएका हुन् ।  

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले एकीकृत बस्ती विकास कार्यक्रममार्फत् जलजलाको २,३ र ४ नम्बर वडाका बस्तीहरुलाई समेटेर ४ दशमलब ८ किलोमिटर दूरीको सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न थालेको हो । 

सडक मार्ग खुलेको करिब डेढ दशकभन्दा बढी समयपछि सडक कालोपत्रे भएपछि स्थानीयवासी खुसी भएका छन् । निर्माण कम्पनीले वडा नम्बर २ को खाल्टीदेखि ४ नम्बर वडाको देवीथानसम्मको सडक फराकिलो पार्ने, नाली, कल्भर्ट, पर्खाल निर्माण, सब बेस र बेस बिछ्याउने काम सकेर आइतबारदेखि प्राइमकोट (बिटुमिन) बिछ्याउन थालेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङका सब इन्जिनियर अमृत क्षेत्रीले जानकारी दिनुभयो । 

उहाँका अनुसार साढे पाँच मिटरदेखि ६ मिटरको चौडाइमा प्रिमिक्स प्रविधिको कालोपत्रे गरिने छ । मौसमले साथ दिएमा एक हप्ताभित्र कालोपत्रे गरिसक्ने योजनाका साथ मजदुर र उपकरण परिचालन गरेको निर्माण कम्पनी गणेशकुण्ड आइएस निर्माण सेवा जेभीका प्रतिनिधि  रामेश्वर ढकालले जानकारी दिनुभयो । 

पहिलो दिन एकहजार चारसय मिटरमा प्राइमकोर्ट बिछ्याउने काम गरेका छौं, उहाँले भन्नुभयो, "मौसमले साथ दिए मङ्गलबारसम्म प्राइमकोर्टको काम सकेर कालोपत्रेको काम थाल्छौं । कार्यालयका तर्फबाट काम गरे अनुसारको भुक्तानी नपाए पनि सडक निर्माणलाई निरन्तरता दिऔं । असार मसान्तभित्रमा योजना सम्पन्न गर्न खटिएका छौं ।" सडक स्तरोन्नतिका क्रममा जनप्रतिनिधि र स्थानीयवासीबाट राम्रो सहयोग र साथ पाएकाले काम गर्ने क्रममा कुनै समस्या नआएको उहाँले बताउनुभयो । 

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले २०७९ असार १९ गते दुई वर्ष भित्रमा योजना सम्पन्न गर्न निर्माण कम्पनी गणेशकुण्ड आइएस निर्माण सेवा जेभी सँग ११ करोड १२ लाख ३१ हजार सात सय ४६ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता लगतै सडक स्तरोन्नतिका लागि निर्माण कम्पनी परिचालन भएको थियो । 

वर्षौंदेखि हिलो र धुलाम्मे सडकका कारण सास्ती भोगेका स्थानीयहरु घर अगाडिको सडक कालोपत्रे हुनथालेपछि खुसी भएको वडा नम्बर ३ का स्थानीयवासी राम थापाले बताउनुभयो । 

सडक कालोपत्रे भएपछि जलजला २,३ र ४ नम्बर वडाका स्थानीयहरुलाई आवतजावतमा सहज हुने वडा नम्बर ४ का वडाध्यक्ष भरतबहादुर क्षेत्रीले बताउनुभयो । सडक स्तरोन्नतिका क्रममा आइपर्ने समस्यालाई जनप्रतिनिधिले सहजीकरण गरेकाले समयमै योजना सम्पन्न हुन थालेको उहाँको भनाइ छ । सडक विस्तार गरेर माझफाँटमा एकीकृत बस्ती विकास गर्ने सरकारको योजना छ ।