• १४ असार २०८१, शुक्रबार

राष्ट्रिय तथा प्रादेशिक पुरस्कारको नाम छनोट

blog

काठमाडौँ, असार ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भाषा एवं साहित्य, संस्कृति, ललितकला र सङ्गीत तथा नाट्य विधाको राष्ट्रिय तथा प्रादेशिक पुरस्कार घोषणा गरेको छ । हरेक वर्ष प्रदान गरिने राष्ट्रिय प्रतिभा तथा प्रदेश प्रतिभा पुरस्कार २०८० का लागि शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट नाम छनोट गरिएको हो । मन्त्रालयका सहसचिव हेमराज तामाङ हस्ताक्षरित विज्ञप्ति अनुसार भाषा एवं साहित्यतर्फको राष्ट्रिय प्रतिभा पुरस्कार गण्डकीका वसन्तबहादुर बराकोटीलाई प्रदान गरिने भएको छ । संस्कृतितर्फ केदारप्रसाद पाठक (नुवाकोट), ललितकलामा सन्तकुमार शाक्य (ललितपुर) र सङ्गीत तथा नाट्य विधाको राष्ट्रिय पुरस्कार माइला लामा (काठमाडौँ) लाई प्रदान गरिने भएको छ । 

प्रादेशिक प्रतिभा पुरस्कारतर्फ चार विधामा २८ जनालाई पुरस्कार घोषणा गरिएको छ । राष्ट्रिय प्रतिभा पुरस्कार एक लाख रुपियाँ र प्रादेशिक प्रतिभा पुरस्कार ५० हजार रुपियाँ राशिको रहेको छ । भाषा तथा साहित्य विधाको प्रादेशिक प्रतिभा पुरस्कार रामविक्रम थापा (कोशी), बुद्धसेन चौधरी (मधेश), राजु महर्जन (बागमती), भीमबहादुर रानाभाट (गण्डकी), रिमा केसी (लुम्बिनी), मानबहादुर चौधरी (कर्णाली) र आरपी तिमिल्सिना (सुदूरपश्चिम) लाई प्रदान गरिने भएको छ ।

यसै गरी संस्कृति विधातर्फको प्रादेशिक प्रतिभा पुरस्कारका लागि भीमप्रसाद योङहाङ ‘यासेली’ (कोशी), भक्तप्रसाद रिजाल (मधेश), डा. शशी थापा पण्डित (बागमती), यारजङ गुरुङ (गण्डकी), जीवनप्रवेश रोकामगर (लुम्बिनी), मनोहर लामिछाने (कर्णाली) र कृष्णहरि कडायत (सुदूरपश्चिम) छनोट हुनुभएको छ । ललितकलातर्फ प्रादेशिक प्रतिभा पुरस्कारका लागि सरोजा खड्गी (कोशी), सुनैना ठाकुर (मधेश), कृष्णगोपाल श्रेष्ठ (बागमती), पदम घले (गण्डकी), यामबहादुर थापा (लुम्बिनी), सोनाम डोल्मा तामाङ (कर्णाली) र सुरेशकुमार पाल्पाली (सुदूरपश्चिम) छनोट हुनुभएको छ । 

त्यस्तै सङ्गीत तथा नाट्य विधातर्फको प्रादेशिक पुरस्कारका लागि धनकुमार ज्ञाङ्मी (कोशी), राजेशकुमार पासवान (मधेश), सरिता गिरी (बागमती), सागर लम्साल (गण्डकी), कमलकुमार शर्मा अर्याल (लुम्बिनी), सुरज पण्डित (कर्णाली) र विक्रम कुँवर ‘प्रतीक’ (सुदूरपश्चिम) लाई प्रदान गरिने निर्णय गरिएको जनाइएको छ ।