• १२ असोज २०८१, शनिबार

उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन-पोखरा सडकको अनुगमन

blog

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ । फाइल तस्बिर

दमौली (तनहुँ), असार ८ गते । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माणाधीन मुग्लिन-पोखरा सडक योजनाको आज अनुगमन गर्नुभएको छ । महासेठले मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड)अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि बन्दीपुर गाउँपालिका-१ डुम्रेसम्म अनुगमन गर्नुभएको हो । 

त्यस क्रममा महासेठले आयोजनाको प्रगतिबारे चासो राख्दै बाँकी कामलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । उहाँले पूर्वी खण्डको म्याद सकिएर पुनः थप भएकाले थपिएको म्यादभित्रै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई सुझाव दिनुभयो । मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पौडेलले आँबुखैरेनीदेखि जामुनेसम्म ६२ प्रतिशत प्रगति भएको जानकारी दिनुभयो । पूर्वी खण्डमा वि.सं.२०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । 

पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । आँबुखैरेनीदेखि जामुनेसम्म २२ दशमलव पाँच किलोमिटर चार लेन र सात दशमलव पाँच किलोमिटर दुई लेनमा कालोपत्र सकिएको छ । वि.सं.२०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । रासस