• १२ असोज २०८१, शनिबार

सेनाको गोली प्रहारबाट तितुङको मृत्यु : घटनाको छानबिन गर्न माग

blog

राममणि दाहाल
हेटौँडा, असार ८ गते । 
हेटौँडा उपमहानगरपालिका वडा नं. १४ मा नेपाली सेनाको गोली प्रहारबाट मृत्यु भएको घटनाको छानबिन र दोषीमाथि कारबाही गर्न माग गरिएको छ ।

सेनाको गोली प्रहारबाट हेटौँडा–१४ स्थित बँदेलधापका शूकबहादुर तितुङको मृत्यु भएको भन्दै शनिबार बसेको सर्वपक्षीय बैठकले घटनाको छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरेको हो ।

हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले पर्सा वन्यजन्तु निकुञ्जबाट खटिएका नेपाली सेनाका सुरक्षाकर्मीबाट गोली प्रहार गरी तितुङको शुक्रबार मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैठकले उक्त घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताउनुभयो ।

यस्तै बैठकले पीडित पक्षलाई न्याय दिलाउन राजनीतिक दललगायत सबै पक्षबाट पहल गर्न ऐक्यबद्धता जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाईँले जानकारी दिनुभयो ।

बैठक प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंह, बागमती प्रदेशका ऊर्जा, खानेपानी तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ, नगर उपप्रमुख राजेश बानियाँ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिपालुलगायत जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।