• १४ असार २०८१, शुक्रबार

चेपाङ र तामाङ विद्यार्थीलाई आर्थिक सहयोग

blog

मकवानपुर राक्सिराङ गाउँपालिका–५ स्थित लोकप्रिय प्राथमिक विद्यालयमा अध्ययनरत चेपाङ र तामाङ बालबालिकालाई पोसाक वितरण गरिँदै । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, असार ८ गते ।
 मकवानपुर राक्सिराङ गाउँपालिका वडा न ५ कुतसिंस्थित लोकप्रिय प्राथमिक विद्यालयमा अध्ययनरत चेपाङ र तामाङ बालबालिकालाई पोसाक वितरण गरिएको हो ।

हाल अमेरिका बस्दै आएका सलिन गुरुङ र समिन गुरुङको तर्फबाट कर्णबहादुर गुरुङ र प्रेमा गुरुङले विद्यालयमा नै पुगेर चेपाङ र तामाङ समुदायका ७९ जना विद्यार्थीलाई पोसाक वितरण गर्नुभएको हो ।

साथै विद्यालयमा सरसफाइका लागि २५ हजार रुपियाँ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुक्रीमाया चेपाङलाई हस्तान्तरण गरिएको नेपाल चेपाङ सङ्घका अध्यक्षसमेत रहनुभएको संविधान सभा सदस्य गोविन्दराम चेपाङले जानकारी दिनुभयो । सहयोग जुटाउन पहल गर्नुभएका समाजसेवी रेखा लोप्चनले विकट बस्तीमा रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीको आर्थिक अवस्था कमजोर रहेको पाइएकाले सहयोग गरिएको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक डिच रुम्बाको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभाका सदस्य राजाराम स्याङ्तान, सगुन स्याङ्तान, सागर चेपाङ, रामशरण चेपाङलगायतले विद्यालय पोसाक वितरण गर्दै विपन्न समुदाय चेपाङ र तामङ बालबालिकालाई सहयोग आवश्यक भएको बताउनुभयो ।