• १४ असार २०८१, शुक्रबार

झोलुङ्गे पुलबाट गरुङ्गो सामान लैजान निषेध

blog

खार्पुको दोजाम कर्णालीमाथि निर्माण गरिएको झोलुङ्गे पुल । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, असार ८ गते । बढी तौल भएका गरुङ्गो सामान झोलुङ्गे पुलबाट ओसारपसार गर्न निषेध गरिएको छ । झोलुङ्गे पुल जीर्ण भएका कारण जोखिम बढी देखिएकाले वडा कार्यालयले यस्ता सामान पुलमा लैजान बन्द गरेको हो । 

खार्पुनाथ गाउँपालिका–५ का वडाध्यक्ष भरतजङ्ग शाहीले खार्पुको दोजाम कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा बढी तौल भएका सामान लैजान निषेध गरिएको बताउनुभयो । राष्ट्रिय सडक सञ्जालसँग खार्पुनाथ गाउँपालिका जोडिएपछि यस्ता सामान दोजाम कर्णालीको पूर्वपट्टिको किनारसम्म गाडीमा ढुवानी भएर आउने गरेका छन् । 

गाडीले खार्पुसम्म ढुवानी गरेका गरुङ्गो सामान झोलुङ्गे पुलबाटै लैजाने गर्दा पुलको दुवैतर्फको जाली च्यातिएको र तल बिछ्याइएको स्टिल पार्ट पनि उप्किएका कारण जीर्ण हुन थालेपछि सूचना जारी गरेरै यस्ता सामान ढुवानीमा बन्देज लगाउनु परेको वडाध्यक्ष शाहीले बताउनुभयो । अछाम– दैलेखमा केही दिनअगाडि पुलको लट्ठा चुँडिएर खच्चड फसे जस्तै घटना नहोस् भनेर सचेत रहन गरुङ्गो सामान पुलबाट ढुवानीमा रोक लगाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । 

व्यापारी जोर भण्डारीले झोलुङ्गे पुलबाट सामान ढुवानी रोक लगाइएपछि इन्धनका ब्यारेललगायतका सामान ढुवानीमा समस्या देखिएको बताउनुभयो । उहाँले व्यापारीहरू निक्कै मर्कामा परेका बताउँदै समस्या समाधानको बाटो अवलम्बन गर्न माग गर्नुभयो । सुर्खेतबाट ढुवानी भएर आएका ७० भन्दा बढी इन्धनका ब्यारेलहरू पुलमा ढुवानी गर्न नपाएपछि पुलको पारिपट्टि अलपत्र अवस्थामा राख्नु परिरहेको बताउँदै उहाँले पक्की पुल नबनेका कारण समस्या भएको बताउनुभयो । दोजाम कर्णालीमा पक्की पुलको निर्माण रोकिएको छ भने हुम्लावासीले माग गरेको बेलिब्रिज निर्माणलाई सडक विभागले पूरा गर्न सकेको छैन ।