• १४ असार २०८१, शुक्रबार

पहिरो पीडितलाई राहत वितरण

blog

पहिरोले क्षति गरेको घरमा पुरिएको सामग्री निकाल्दै पीडित परिवारका सदस्य ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ७ गते । ताप्लेजुङका पहिरोपीडित परिवारलाई राहत वितरण गर्न सुरु गरिएको छ । जिल्ला विपत् व्यवस्थापन कोषमार्फत बाढी पहिरोपीडित परिवारलाई राहत रकम वितरण गर्न सुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मनसुनजन्य विपद् अर्थात् बाढी पहिरोबाट घरबारबिहीन भएका परिवारलाई राहत रकम वितरण गर्न सुरु गरिएको छ । बाढी पहिरोका कारण घर पूर्णरुपमा क्षति भएका परिवारलाई प्रतिपरिवार १५ हजार रुपियाँका दरले राहत रकम वितरण गरिँदै आएको प्रजिअ आचार्यले बताउनुभयो ।

उहाँका अनुसार घर पूर्णरुपमा क्षति भएका सिरिजङ्घा गाउँपालिकाका ११ परिवारलाई जिल्ला विपत् व्यवस्थापन कोषबाट बिहीबार राहत रकम वितरण गरिएको छ । प्रतिपरिवार १५ हजारका दरले एकलाख ६५ हजार रुपियाँ राहत सम्बन्धित गाउँपालिका मार्फत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै सिदिङ्वा गाउँपालिकाका पहिरो पीडित आठ परिवारलाई पनि बिहीबार राहत रकम उपलब्ध गराइएको छ । घर पूर्णरुपमा क्षति भएका आठ परिवारका लागि १५ हजारका दरले एक लाख २० हजार रुपियाँ रकम गाउँपालिका मार्फत वितरण गर्नेगरी उपलब्ध गराएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ ।

बाढीपहिरोबाट घर पूर्णरुपमा क्षति भएका बाँकी परिवारलाई पनि क्रमशः राहत रकम उपलब्ध गराइने जिल्ला विपत् व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएको प्रजिअ आचार्यले बताउनुभयो । 

गत जेठ ३० गतेदेखि अविरल परेको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा गरी २२ घर पूर्णरुपमा क्षति भएका छन् । त्यस्तै १४ घर उच्च जोखिम र ५५ घर जोखिममा रहेको समितिले जनाएको छ ।

यसैगरी बाढीपहिरोमा परी तीन महिला र दुई पुरुष गरी पाँच जनाले ज्यान गुमाएका छन् । दुईजना घाइते भएका विपत् व्यवस्थापन समितिको तथ्याङ्क रहेको छ । चौपाया ९२ वटा मरेका छन् भने ४१ वटा पन्छी मरेका छन् । दुईवटा मोटर गुड्ने (मोटरेवल) पुल, झोलुङ्गे पुल एक र सिमेन्ट ढलान भएको एउटा मानिस हिड्ने पुल पूर्णरुपमा क्षति भएको छ ।

एउटा क्रसर उद्योग, माइक्रो हाइड्रोपावर र लिम्बू सांस्कृतिक सङ्ग्रहालय बाढी पहिरोको जोखिममा रहेको पनि समितिले जनाएको छ । यता मनसुनजन्य विपतले गरेको क्षतिको विवरण थपघट हुन सक्ने जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । बिहीबारदेखि भने वर्षा बादलसहित प्रतिकूल मौसममा केही सुधार हुँदैगएको छ ।