• १२ असोज २०८१, शनिबार

दोलखाका अधिकांश सडक निर्माण अलपत्र

blog

प्रदेश सरकारद्वारा निर्माणाधीन सडक । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट, असार ६ गते । बागमती प्रदेश सरकारले दोलखामा निर्माण सुरु गरेका अधिकांश सडक अलपत्र परेका छन् । भौतिक पूर्वाधार कार्यालयमार्फत दोलखामा एक अर्ब ७३ करोड ८१ लाख ५८ हजार ४६१ रुपियाँमा ९ वटा सडक निर्माणाधीन छन् । 

कतिपय सडक कार्यालयले पटक-पटक म्याद थप गर्दा समेत अझै निर्माण सम्पन्न हुन सकेको छैन । भौतिक पूर्वाधार कार्यालय सिन्धुपाल्चोकले सितली मेलुङ बुद्द्चोक सडक निर्माणका लागि १३ करोड ७६ लाख ६७ हजार ५७९ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । २०७७ साल असार १८ गते बिरुवा वाइबा एण्ड लामा जेभीसँग सम्झौता गरिएको सो सडक ५ पटक म्याद थप गर्दासम्म निमार्ण सम्पन्न हुन सकेको छैन ।

त्यसैगरि कार्यालयले मुडे बाघखोर देउराली ढुङ्गे सडक निर्माणका लागि ३३ करोड ७७ लाख ५४ हजार ३५७ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । २०७६ साल असार ४ गते महालक्ष्मी द कन्चनजङ्गा शुभकामना जेभिसँग सम्झौता गरिएको सो सडक निर्माण सुरु भएको ५ वर्ष हुँदा पनि निर्माण सम्पन्न हुन सकेको छैन । ४ पटक म्याद थप गरिएको सो सडक हाल सम्म ६३.५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ ।

कार्यालयले सिताको थान जुगु झ्याकु सडक निर्माणका लागि ४५ करोड ७० लाख ३२ हजार ४९३ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । २०७७ साल असार २४ गते गजुरमुखी मोतिदान बिरुवा जेभीसँग सम्झौता गरिएको सो सडक निर्माण सुरु भएको ४ वर्ष हुँदा पनि निर्माण सम्पन्न हुन सकेको छैन । २ पटक म्याद थप गरिएको सो सडक निर्माण सम्पन्न हुन सकेको छैन ।

कार्यालयले भटमासे जिलु सडक निर्माण गर्नका लागि ७ करोड ५८ लाख ५० हजार ४४२ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । २०७८ साल असोज १० गते ओम बुद्ध नन्द आर्डी जेभीसँग सम्झौता गरिएको सो सडक निर्माण सुरु भएको ३ वर्ष हुँदा पनि निर्माण सम्पन्न हुने सकेको छैन । सो सडक निर्माणको म्याद २ पटक थप्दा पनि ६४.६५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ ।

त्यसैगरि कार्यालयले १३ करोड ३६ लाख ६६ हजार ७२० रुपियाँमा चरिकोट देउराली सडक निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । २०७९ साल भदौ २ गते जय धनञ्जय भुजेल जेभीसँग सम्झौता गरिएको सो सडक १ पटक म्याद थप गरिएको छ । सो सडक निर्माणको अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ ।

कार्यालयले १४ करोड ४८ लाख २२ हजार ७८६ रुपियाँमा देउराली कालिन्चोक सडक निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । २०७८ साल साउन ४ गते एक्थुनघ्याङ दाप्चा सिमपानी जेभी सँग ठेक्का सम्झौता गरिएको थियो । सो सडक एक पटक म्याद थप्दा पनि जम्मा ५६.७२ प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ ।

कालिन्चोक गाउँपालिकामा निर्माणाधीन रहेको सुनखानी साङ्बा सडक कार्यालयले २७ करोड ३६ लाख ६ हजार २४१ रुपियाँमा ठेक्का सम्झौता गरिएको थियो । २०७८ साल चैत ९ गते केएस सुनकोशी जेभीसँग सम्झौता गरी निर्माण सुरु गरिएको सो सडक १ पटक म्याद थप्दा ५१.३४ प्रतिशत काम सम्पन्न भएको छ ।

कार्यालय जिरी ठोसे शिवालय सडक निर्माणका लागि ५ करोड ५ लाख ४२ हजार ८५५ रुपियाँमा  २०७९ साल चैत १६ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार सो सडक चालू आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने हुन्छ । सो सडक हालसम्म ३४.८८ प्रतिशत मात्र सम्पन्न भएको छ ।

चालू आर्थिक वर्षमा १२ करोड ७२ लाख १४ हजार ९८३ रुपियाँमा गणेश एन्ड गङ्गा इफ्फाटा शान्तीदेवि जेभीसँग निर्माण सम्झौता गरिएको सिगटी लादुक बुलुङ लामाबगर सडक  हाल सम्म १५.३७ प्रतिशत निर्माण कार्य सम्पन्न भएको कार्यालयले जनाएको छ । भौतिक पूर्वाधार कार्यालय सिन्धुपाल्चोकका प्रमुख भरत कुमार यादवले कतिपय सडक अन्तिम चरणमा पुगेको बताउनुभएको छ । पहिले सडक निमार्णले गति लिन सकेको थिएन, पछिल्लो समय आफू कार्यालय हाजिर भएसँगै ताकेता गरिरहेको र निमार्ण व्यवसायीले पनि काम निरन्तर गरिरहेको बताउनुभयो । कतिपय सडक निमार्ण स्थानमा पानी परिरहेकाले कालोपत्रे गर्ने काम रोकिएको बताउनुभयो ।