• १३ असार २०८१, बिहिबार

लागूऔषध कोकिनसहित चार जना विदेशी नागरिक पक्राउ

blog

काठमाडौँ, असार ६ गते । नेपाल प्रहरीले लागूऔषध कोकिन चार किलो पाँच सय चार ग्रामसहित चार जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

बिहीबार नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रहरी नायब उपरीक्षक एवम् लागूऔषध नियन्त्रण ब्युरोका सहायक प्रवक्ता प्रेमबहादुर शाहीले विभिन्न मुलुकबाट नेपाल प्रवेश गरी शङ्कास्पद गतिविधि गर्ने विदेशी नागरिकहरूको निगरानी गर्दै जाने क्रममा उनीहरूलाई लागूऔषध कोकिनसहित पक्राउ गरिएको बताउनुभयो ।

उहाँकाअनुसार जेठ २७ गते फ्लाइ दुबईको उडानबाट नेपाल आएका वर्ष ६८ का तान्जिनियन नागरिक डोनाल्ड ज्याक्सन माबुगालाई काठमाडौँ १६ ठमेलस्थित एक होटलबाट अवैध लागूऔषध कोकिन १८ क्याप्सुलसहित पक्राउ गरिएको थियो । निजले उक्त प्लास्टिक कोडेट कोकिनका क्याप्सुलहरू इथियोपियाको एडिस अबबा पुगी निलेर काठमाडौँ आएको पाइएको बताउनुभयो ।

अनुसन्धानको क्रममा पेटमा थप क्याप्सुल रहेको बताएपछि हालसम्म निजबाट ५९ क्याप्सुलहरू समेत गरी ७७ वटा कोकिनका क्याप्सुलहरूबाट एक केजी २६० ग्राम बरामद गरिएको जानकारी दिनुभयो ।

जेठ ३० गते इमिरेट्सको उडानमार्फत ब्राजिल हुँदै नेपाल आउनुभएको ३३ वर्षकी बोलिभियन नागरिक लाउरा क्रुज टिकोनालाई पक्राउ गरिएको बताउनुभयो । निजको झोलामा महिलाले प्रयोग गर्ने १२१ वटा फेन्सी लुगाहरूमा बटनभित्र लुकाएर राखेको अवस्थामा लागूऔषध कोकिन दुई किलो सय ग्राम बरामद गरिएको बताउनुभयो ।

त्यस्तै, असार १ गते कतार एयरको उडानबाट नेपाल आएका भेनेजुएलाका ३९ वर्षीय सिमोन एन्टोनियो एल्फोन्जो राडालाई काठमाडौँ २६ स्थित एक होटलबाट शङ्कास्पद रूपमा बसिरहेको अवस्थामा पक्राउ गरिएको बताउनुभयो । उनको साथबाट कोकिनका ९२ क्याप्सुलबाट एक किलो १९८ ग्राम बरामद गरी अनुसन्धान भइरहेको बताउनुभयो ।

उहाँले कोकिनका उक्र क्याप्सुलहरू डेलिभरी दिने क्रममा भारत मिजोरम बस्ने वर्ष २७ की भारतीय नागरिक लालरु अतसंतीलाई भारतको नयाँ दिल्ली लैजान लागेको अवस्थामा पक्राउ गरिएको बताउनुभयो । बरामद गरिएको लागूऔषध कोकिनको अवैध बजार मूल्य अन्दाजी १५ करोड ७६ लाख हुने प्रहरीले बताएको छ ।