• १२ साउन २०८१, शनिबार

भक्तपुरका किसानलाई धान रोप्ने चटारो

blog

फाइल तस्बिर

भक्तपुर, असार ६ गते । यस वर्ष मनसुन चाँडै सुरु भएपछि भक्तपुरका किसानलाई धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ ।

“पानी परेर खेतका गह्रा भरिएपछि धान खेती गर्न नभ नहुने रासायनिक मल अभाव भए पनि कुरेर बस्न सकिएन, रोप्न थाल्यौँ”, चाँगुनारायण नगरपालिका-४ छालिङमा खेतमा रोपाइँ गरिरहेकी किसान कल्पना वासीले भन्नुभयो । विगतका वर्षमा असार १५ ताका किसानलाई भ्याइनभ्या हुनेमा यस वर्ष असार १५ अघि नै पानी परेपछि जिल्लाका अधिकांश क्षेत्रमा रोपाइँ हुन थालेको चाँगुनारायण-९ का किसान सानुभाइ गिरीले बताउनुभयो । 

उहाँका अनुसार कतिपय किसानको बीउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् । सिँचाइ अभावमा भक्तपुरमा धेरै आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्थाका कारण यस वर्ष आकाशे पानी समयमा नै परेकाले किसान रोपाइँमा लागेका हुन् । सूर्यविनायक नगरपालिका-८ नखेलका किसान पूर्णिका थापाले खेतमा काम गर्ने ज्यामी नपाउँदा समस्या परेको बताउनुभयो । उहाँले भन्नुभयो, “खेतमा हाल्ने मल छैन, काम गर्ने जनशक्ति छैनन्, यस्तो अवस्थामा पनि धान रोप्नैपर्यो, मल नपाए यस वर्ष उत्पादन घट्छ ।” 

खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएका जनशक्ति रोपाइँमा जुटेका छन् । रोपाइँमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने चिन्ताले सताएको किसान बताउँछन् । धान रोप्न र हिलो सम्याउन आवश्यक प्रविधिको प्रयोग बढाउन सके जनशक्ति नहुँदा पनि धान उत्पादन बढाउन सकिने कृषि प्राविधिक हरिकृष्ण नेपालले बताउनुभयो । उहाँले पछिल्लो समय खेतमा काम गर्ने जनशक्ति नहुँदा किसानलाई समस्या परेको भन्दै सरकारले आधुनिक प्रविधिमा सहुलियत प्रदान गरी सहजीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

विगतका वर्षमा जस्तै पानी ढिला पर्ला भनेर ढिला धानको बीउ राख्ने किसानले छोटो बीउ नै रोप्न थालेका छन् । भक्तपुरको ब्याँसीमा धान रोपाइँ गर्दै गरेका किसान धनकुमार श्रेष्ठले सिँचाइ नहुँदा खेतमा भरिएको पानी सुक्ला भनेर छोटो बीउ रोपेको बताउनुभयो । रासस