• १३ मंसिर २०८१, बिहिबार

दिगो विकासका लागि पूर्वाधार निर्माणमा जनसहभागिता आवश्यक : पूर्वमन्त्री यमी

blog

तस्बिर:रासस

काठमाडौँ, असार ६ गते । पूर्वमन्त्री एवम् नेपाल समाजवादी पार्टीकी नेत्री हिसिला यमीले दिगो विकासका लागि भौतिक पूर्वाधार निर्माणमा राजनीतिक नेतृत्वसँगै जनसहभागिता पनि आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) द्वारा गणतन्त्र दिवस-२०८१ का अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको बुधबार अवलोकनपछि उहाँले भन्नुभयो, “कुनै पनि क्षेत्रको दिगो विकासका लागि भौतिक या अन्य पूर्वाधारको निर्माणलाई स्थानीयतासँग जोड्नुपर्छ र यसमा जनताको अधिक सहभागिता हुनुपर्छ ।” 

नेत्री यमीले भौतिक पूर्वाधारको निर्माणलाई स्थानीयको सहभागितासँग जोडेर मात्र अघि बढाउनुपर्ने र सो पूर्वाधारको विकासमा हरेक नागरिकले अपनत्व ग्रहण गर्न सक्ने हुनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । “विकास मात्र गरेर पुग्दैन यसलाई अपनत्वसहित तल्लोतहसम्म व्यक्तिको जनजीवन र सीपसँग जोड्नुपर्छ । निर्यातसँग पनि जोड्नुपर्छ । सबै प्याकेजमा हुनुपर्छ”, नेत्री यमीले भन्नुभयो । 

उहाँले देशभरका विभिन्न स्थानमा सडक सञ्जाल पुगेको र सडक पुगेसँगै कतिपय जिल्लामा एकतर्फी रूपमा बाह्य आयात वृद्धि भएको अवस्था औँल्याउँदै सडक मार्गको विकास र विस्तारपछि बसाइसराइ बढेको तर स्थानीय परम्परागत सीप र सामग्रीको विकास निर्यात हुन भने नसकेको भन्दै यसबारेमा पनि अब सोच्नुपर्ने धारणा राख्नुभयो । उहाँले अधिकांश सडकमार्ग सुरक्षित एवम् राम्ररी सवारी यात्रा गर्ने अवस्थामा नरहेकाले यसको स्तरोन्नति र विकासमा सम्बद्ध निकायको ध्यान पुग्नुपर्ने बताउनुभयो ।

नेत्री यमीले सडक सञ्जाल विस्तारलाई स्थानीय उत्पादन र व्यापारसँग जोड्न सकिने सुझाव दिँदै भन्नुभयो, “बृहतरुपमा हेर्दा केही भएको देखिन्छ । तर सुक्ष्मरुपले हेर्दा सेवा प्रवाह पुगिरहेको छैन । सडक निर्माण र विस्तारमा मात्रै पनि सरकारले धेरै लगानी गरेको छ । जनताले के पाए ? हामीले सडक पुगेका ठाउँबाट के निर्यात गर्न सकेका छौँ ? ‘माइक्रो’ र ‘म्याक्रो’ दुवैको संयोजनबाट मात्र विकास हुनुपर्छ ।”

उहाँले पूर्वाधार निर्माणलाई आर्थिक व्यवहारिकतासँग पनि जोड्न सक्नुपर्ने बताउनुभयो । देशभर पूर्वाधार निर्माण भएको र यसपछि पनि स्थानीय नागरिक यसबाट लाभान्वित हुन नसकिरहेकाले भौतिक पूर्वाधारलाई आर्थिक व्यवहारिकतासँग जोड्न आवश्यक रहेको उहाँको सुझाव थियो । यसका लागि आवश्यक वातावरण बनाउन राजनीतिक नेतृत्व जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो । 

पूर्वमन्त्री यमीलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले तस्बिर प्रदर्शनीमा राखिएका तस्बिरहरूबारे अवगत गराउनुभएको थियो । गत जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनी यही असार १० गतेसम्म सञ्चालन हुनेछ । रासस