• १२ साउन २०८१, शनिबार

व्यावसायिक भैँसी पालनबाट मनग्य आम्दानी

blog

फाइल तस्बिर

देउखुरी (दाङ), असार ६ गते । घोराही उपमहानगरपालिका-६ बचाहामा बाबुराम वलीले विगत तीन वर्षदेखि व्यावसायिक भैँसी पाल्दै आउनुभएको छ । उहाँले बाबुराम बहुउद्देश्यीय कृषि तथा पशुपन्क्षी नामको फार्म दर्ता गर्नुभएको छ । दुई दशक दुबईमा बसेर फर्कनुभएका व्यवसायी वलीले श्रीमतीको नाममा व्यवसाय दर्ता गर्नुभएको छ । उहाँले ३६  भैँसीबाट व्यवसाय सुरु गर्नुभएको हो । 

उहाँले दुध दिँदासम्म भैँसी आफै राख्ने गर्नुभएको छ । उहाँले भन्नुभयो, “बिहान बेलुका गरी दैनिक ९६ लिटर दुध आफैले बजार पुर्‍याउने गरेको छु २८ लिटर दुध ७५ रुपियाँका दरले तुलसीपुर-१८ दुधरासको डेरीबाट किनेर एक सय रुपियाँमा बिक्री गर्ने गरेको छु ।” महिनाको ३० हजार भैँसीको दानापानी र अन्य खर्च कटाउँदा तीन लाख ४० हजार महिनामा आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

आफैले मोटरसाइकलमा क्यान राखेर दैनिक दुध घोराही बजारका ग्राहकलाई घरघरमा पुर्‍याउने गरेको उहाँले बताउनुभयो । आफ्नो काम गर्न लाज मान्नु हुँदैन । पसिनाको कमाइ मिठो हुन्छ । उहाँले सबै भैँसीको बिमा गर्नुभएको छ । भैँसीको दुधका साथै मल पनि बिक्री हुन्छ । एक ट्याक्टर मल चार हजार पाँच सयमा बिक्री गर्ने गरेको बताउनुभयो । अलिकति जाँगर गर्ने हो भने सबै ठाउँमा पैसा छ । भैँसीको दुध, मल र बाख्रा बेच्दा पैसा आउँछ । गत वर्ष दुध बिक्री गरेको पैसाले साढे दुई कठ्ठा जग्गा थपेको उहाँले बताउनुभयो । 

बिस लाख कठ्ठाका दरले ५० लाखमा किनेको बताउनुभयो । “भैँसीलाई चाहिने घाँस, पराल घरमै उत्पादन हुने गरेको बाहिर किन्नु पर्दैन”उहाँले भन्नुभयो । गोठको एउटा कोठा भरी बरसिम घाँस र गहुँको भुस भरिभराउ छ । चार बिघा खेतबारी आफ्नै छ, त्यतिले नपुगेर साढे एक बिघा खेत वार्षिक २० हजार भाडा दिने सर्तमा लिएर घाँसखेती गर्नुभएको छ । आफ्नै लगानीमा सबै खर्च गरेको उहाँले बताउनुभयो । 

कसैले सहयोग लिन आउनुस् भनेका छैनन् मलाई सहयोग चाहियो भन्न गएको छैन उहाँले भन्नुभयो । कहाँ कसरी सहयोग मिल्छ भनेर सोध्न जाने समय पनि नभएको उहाँ बताउनुहुन्छ । स्थानीय तहले दिने अनुदानका बारेमा अनविज्ञ रहेको उहाँले बताउनुभयो । व्यवसायी वलीले भैँसीका साथमा बाख्रा पनि पाल्नुभएको छ । उहाँसँग १७ खसी, बोका र बाख्रा छन् । भैँसीका लागि दानापानी जुटाउन परिहाल्छ । त्यसैमा अलिकति दाना थपे बाख्रा पाल्न सकिन्छ भन्ने सोचाइ आएर बाख्रा पनि सुरु गरेको उहाँले बताउनुभयो । रासस