• १ जेठ २०८२, बिहिबार

सात जनालाई घाइते बनाएको चितुवा मृत फेला

blog

मृत फेला परेको चितुवा ।

बोमलाल गिरी

नवलपुर, असार ६ गते। नवलपुरको मध्यविन्दु नगरपालिकाको वडा नम्बर ८ मा एक प्रहरीसित सात जनालाई घाइते बनाएको चितुवा मृत फेला परेको छ। 

बिहीबार बिहानै मध्यविन्दु ८ देवकोटा टोल बस्ने रामबहादुर खत्रीको घरमा अकस्मात् पसेको चितुवाले घरबाट बाहिर निस्कने क्रममा ६ जनालाई घाइते बनाएको थियो।

चितुवाको आक्रमणबाट मध्यबिन्दु ८ का देवा ठकुरी, सुनिल जैसवाल, रुपा कुमाल, अमृत चौधरी, रोशन कुमाल, अमृत महतो घाइते भएको हो। घाइतेको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको नवलपुर प्रहरीले जनाएको छ।

चितुवाको आक्रमणबाट स्थानीयलाई बचाउने क्रममा एक जना सशस्त्र प्रहरी समेत घाइते भएका छन्। सात जनालाई घाइते बनाएको उक्त चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय कावासोतीका प्रमुख वसन्त केशव अधिकारीले बताउनुभयो। 

स्थानीय रामबहादुर खत्रीको घरमा पसेको बेला डार्ट गरेर उक्त चितुवा नियन्त्रणमा लिन सकिने अवस्था भएको भए पनि जिल्लामा डार्ट गर्ने टोली नहुँदा चितुवा घरबाट निस्किएर भाग्ने क्रममा स्थानीयको आक्रमणबाट मरेको अधिकारीको भनाइ छ। जङ्गलमा अरुनै जनावर सँग लडेर घाइते भएको चितुवा बस्ती प्रवेश गरेर स्थानीयलाई आक्रमण गरेर भाग्ने क्रममा स्थानीयको आक्रमणबाट मारिएको अधिकारीको भनाइ थियो। 

चितुवालाई पोस्टमाटम गरेर गाडिने र घटनाको विषयमा अनुसन्धान गरिने अधिकारीले बताउनुभयो। अधिकारीले स्थानीयको कारणले चितुवा मरेको बताई रहँदा समयमै चितवनको सौराहाबाट र्डाट गर्ने टोली बोलाउन डिभिजन वनले समन्वय नगर्दा घटना भएको स्थानीयले बताएका छन्। यसअघि मध्यबिन्दुमा तीन वटा दुर्लभ पाटेबाघ मरका थिए।