• १२ असोज २०८१, शनिबार

जलेश्वरका वडाध्यक्षद्वयले पाए प्रमुख र उपप्रमुखको जिम्मेवारी

blog

जलेश्वर नगरपालिकाको कार्यवाहक प्रमुख रविन्द्र यादव र कार्यवाहक उपप्रमुख रत्तन चौधरी । तस्विर: गाेरखापत्र

महेशकुमार दास 

जलेश्वर, असार ६ गते । भ्रष्टाचार आरोपमा प्रमुख र उपप्रमुख नै निलम्बनमा परेपछि जनप्रतिनिधि विहीन रहेको जलेश्वर नगरपालिकाले कार्यवाहक प्रमुख र उपप्रमुख चयन गरेको छ । नगरपालिकाले रवीन्द्र यादवलाई प्रमुख र रत्तन चौधरीलाई उपप्रमुखमा चयन गरेको हो ।

प्रमुखको जिम्मेवारी पाउनु भएका यादव वडा नं. ९ का वडा अध्यक्ष हुन भने उपप्रमुखको जिम्मेवारी पाउनुभएका चौधरी वडा नं. ३ का अध्यक्ष  हुनुहुन्छ । बुधवार जलेश्वर नगरपालिकाको बोर्ड सदस्यहरूको बैठकबाट बहुमतीय प्रणालीले चयन गरेको प्रमुख प्रशासकीय अधिकृत जयकुमार साहले जानकारी दिनुभयो । 

वैशाख २७ गतेका दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलेश्वर नगरपालिकाको नगरप्रमुख सुरेशप्रसाद साह र उपप्रमुख रौशन खातुन लगायत १२ जनामाथि विशेष अदालतमा आरोपपत्र दायर गरेपछि सो पद रिक्त रहँदै आएको थियो । 

हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहीन कार्य गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जलेश्वर नगरपालिकाबाट आ.ब. २०७९÷०८० मा सञ्चालित जलेश्वर नगरपालिका वडा नं. १ महोत्तरी बरुणसर पोखरी नजिक रहेको बजार क्षेत्रभित्र पी.पी.सी. ढलान कार्यमा जलेश्वर नगरपालिका नगरप्रमुख सुरेश साह सोनार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत छैटाैं धिरेन्द्र झा , जलेश्वर नगरपालिकाका वरिष्ठ इन्जिनियर पवनकुमार  झा, इन्जिनियर राकेशकुमार चौधरी र सब–इन्जिनियर दीपेशकुमार साहले, कार्यपालिका सदस्य सोगरा खातुन र जलेश्वर नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष अनिलकुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी  र कोषाध्यक्ष सन्तोषी देवीले पी.पी.सी. ढलान योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन चेकजाँच नगरी भुक्तानीको लागि टिप्पणी पेश तथा सदर गरी सोही आधारमा पाँच लाख ८४ हजार ६३७ रुपियाँ बढी रकम भुक्तानी गरेपछि आयोगले मुद्दा दर्ता गरेको थियो ।