• १२ साउन २०८१, शनिबार

पाँच दशकपछि खाद्यसम्बन्धी नयाँ ऐन

blog

मकवानपुर समाचारदाता

हेटौँडा, असार ६ गते  । नेपालमा खाद्य पदार्थको स्वच्छता, गुणस्तर निर्धारण र त्यसको नियमन गर्न ऐन कानुन बनेको छ दशक पुग्न लाग्दासमेत उपभोक्ताले खरिद गर्ने खाद्य पदार्थको स्वच्छता र गुणस्तरमा सुधार आउन सकेको छैन । 

खाद्य उत्पादक र व्यवसायीको लापर्बाही, बजार अनुगमन प्रभावकारी नहुनु, उपभोक्ता सचेतना अभावलगायतका कारणले उपभोक्ताले गुणस्तरहीन, मिसावटयुक्त र मानव स्वास्थ्यलाई हानिकारक खाद्य पदार्थको उपभोग गर्नुपर्ने बाध्यता रहेको बताइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडाको आयोजना र मकवानपुर उद्योग वाणिज्य सङ्घको सहकार्यमा हेटौँडामा भएको बागमती प्रदेशस्तरीय खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी गोष्ठीका सहभागीले यस्तो बताएका हुन् । 

गोष्ठीका सहभागीले खाद्य पदार्थको स्वच्छता र गुणस्तरमा सुधार ल्याउन खाद्य पदार्थ उत्पादन गर्ने उद्योगसँगै होटेल तथा खाद्य व्यवसायको प्रभावकारी अनुगमन र नियमनमा जोड दिँदै खाद्यसम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनका लागि तिनै तहको बिचमा सहकार्य र समन्वय आवश्यक भएको बताए । 

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रशासकीय अधिकृत गुणराज न्यौपानेले दैनिक प्रयोगमा आउने पानी, तेल, दुधजन्य पदार्थलगायतका वस्तुको बजारबाट नमुना सङ्कलन गरी गुणस्तरको अवस्थाका बारेमा तिनै तहका खाद्य प्रयोगशालाले परीक्षण गरी स्वतः सार्वजनिक गर्ने प्रणालीको विकास आवश्यक भएको भन्दै ऐन कार्यान्वयनमा कर्मचारी इमानदार र जिम्मेवार हुनुपर्ने बताउनुभयो । 

उहाँले निजी क्षेत्रका अस्पतालले पाँच वर्षअघि म्याद गुज्रेको औषधीसमेत राखेर अस्पताल चलाएको अनुगमनका क्रममा पाइएको बताउँदै खाद्य स्वच्छताका बारेमा उपभोक्तालाई समेत सबल बनाउनुपर्ने बताउनुभयो ।

उद्योग वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले प्रदेश सरकारले खाद्य स्वच्छता र व्यापारसँग जोडिएका ऐन बनाए पनि नियमावली नबन्दा कार्यान्वयन हुन नसकेको भन्दै स्रोतसाधन र जनशक्ति अभावमा प्रभावकारी रूपमा खाद्य स्वच्छताका क्षेत्रमा काम गर्न नसकेको सुनाउनुभयो । 

मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ताले खाद्य पदार्थको स्वच्छता र गुणस्तरमा सुधार ल्याउन व्यावसायिक आचारसंहिता बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडाका कार्यालय प्रमुख काशीनाथ घिमिरेले आगामी साउन १ बाट खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ कार्यान्वयनमा आउने बताउँदै नियमावली बनाउने क्रममा रहेको जानकारी दिनुभयो । खाद्य ऐन २०२३ बनेको ५८ वर्षपछि उक्त ऐनलाई एकीकृत गरी बनाइएको नयाँ ऐन कार्यान्वयन गर्न लागिएको हो । 

कार्यक्रममा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत प्रगति अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ मा भएका व्यवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । विगतमा अनुज्ञापत्रको व्यवस्था रहेकोमा अहिले खाद्य व्यवसाय दर्ता गर्नुअघि सिफारिस र व्यवसाय सञ्चालन गर्नुअघि अनुमतिपत्र लिनुपर्ने नयाँ व्यवस्था रहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, उपमहानगरका अधिकृत हिमप्रसाद पौडेल, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष वासु खतिवडा, उपभोक्ता मञ्च नेपालका बागमती प्रदेश संयोजक कुमार पौडेल, उद्योग सङ्घ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्मालगायतले गुणस्तर सम्बन्धमा आउने भ्रमका बारेमा प्रयोगशालाले वास्तविकता सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो ।