• १९ असार २०८१, बुधबार

प्रतिपक्षले बहिष्कार गरेपछि कोशी प्रदेशसभाको बैठक स्थगन

blog

विराटनगर, असार ५ गते । कोशी प्रदेश सभाको पाँचौँ अधिवेशनको १०औँ बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बहिष्कार गरेपछि स्थगन भएको छ । कोशी प्रदेश सभा नियमावली, २०७४ को नियम १२५ (४) बमोजिम आर्थिक वर्ष २०८१/८२ को आर्थिक विधेयक माथि सभामा छलफल हुने बैठकको कार्यसूची थियो ।

निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको सभामा सभामुख अम्बरबहादुर विष्टले बोल्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राप्रपाका सांसदहरू उभिएर विरोध जनाएपछि सभामुख विष्टले आफ्ना कुरा राख्न आग्रह गर्नुभएको थियो । नेपाली कांग्रेसका गोपाल तामाङ र राप्रपाका सविना बजगाईँले सरकारले सदनमा ल्याएको नीति तथा कार्यक्रमअनुसार बजेट नआएको जिकिर गर्नुभयो । 

उहाँहरूले रातो किताबमा उल्लेखित बजेट र योजना हेर्दा मन कुँडिएको, यसबाट निर्वाचन ताका जनतालाई गरेको कबोल पूरा नहुने धारणा राख्दै आजको सदन बहिष्कार गर्ने दलको निर्णय भएको सुनाउनुभएको थियो । सदनमा सत्तापक्षबाहेक अरू कुनै पनि दलका प्रतिनिधि नहुँदा सभामुख विष्टले आजै ३ बजेसम्मका लागि सदन स्थगित गर्नुभएको थियो । 

स्थगन भएको अवधिमा सत्तापक्ष र प्रतिपक्षबिच सदन चलाउने सहमति नभएपछि भोलि बिहान ११ बजे बस्ने गरी सूचना जारी गरी सदन स्थगन गरेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सत्तापक्षले प्रतिपक्षसँग चित नबुझेको विषयमा वार्तामा खुलस्त ढङ्गले कुराकानी भएको र केही विषयमा सहमति हुन बाँकी रहेकाले आजको सदन सञ्चालन हुन नसकेको प्रतिक्रिया दिनुभयो । रासस