• १३ असार २०८१, बिहिबार

खरका छाना मुक्त गाउँपालिका घोषणा गरिने

blog

रमेश विश्वकर्मा
गुल्मी, असार ५ गते । 
गुल्मीदरबार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ मा गाउँपालिकालाई खरका छाना मुक्त गाउँपालिका घोषणा गर्ने गरी नीति ल्याएको छ । यस गुल्मीदरबार गाउँपालिकाको गाउँसभाको १५ औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले गाउँपालिकालाई सुरक्षित आवासअन्तर्गत खरका छाना मुक्त गाउँपालिका घोषणा गर्ने नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो ।

गाउँपालिकावासी सबैलाई स्वच्छ खानेपानीको व्यवस्था मिलाउन एक घर एक धाराको कार्य सम्पन्न गर्ने भन्दै उहाँले यस गाउँपालिकामा फलफूल तथा तरकारी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरी नागरिकको जीवनस्तर परिवर्तन गर्ने बताउनुभयो । गाउँपालिका तथा वडाको मुख्य सडक र सहायक सडकहरूलाई स्तरोन्नति गरी बाह्रै महिना सवारी चल्ने व्यवस्था मिलाइने नीति ल्याइएको उहाँले बताउनुभयो । सामाजिक समावेशीकरणको नीति अवलम्बन गर्दै विकासको मूल प्रवाहमा सबै क्षेत्रलाई समावेश गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

त्यस्तै, गाउँपालिकाले विभिन्न स्थानमा पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनसहित रोजगारीमा वृद्धि गर्ने भन्दै वातावरणमैत्री स्वच्छ र सुन्दर गाउँपालिका निर्माण गर्ने उल्लेख गरिएको छ । गाउँपालिकाका सबै नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गरिने नीति ल्याइएको उहाँले बताउनुभयो । सबल, सक्षम र उत्थानशील स्थानीय सरकार निर्माण गर्न भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो र नागरिकले अनुभूति गर्ने गरी गुणस्तरीय सेवा प्रवाहको लागि सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै स्मार्ट गाउँपालिका बनाउने नीति ल्याइएको अध्यक्ष थापाले बताउनुभयो ।