• १३ असार २०८१, बिहिबार

मनहरीको नीति तथा कार्यक्रम : कृषि र पूर्वाधार निर्माणमा जोड

blog

मनहरी गाउँपालिकाको गाउँ सभाको पन्ध्रौँ अधिवेशन गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, असार ५ गते ।
 मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कृषि र पूर्वाधार निर्माणमा जोड दिँदै ल्याएको छ ।

मनहरी गाउँपालिकाको बुधबार भएको गाउँ सभाको पन्ध्रौँ अधिवेशन गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले प्राकृतिक स्रोत ढुङ्गा, गिट्टी, बालुवा बिक्रीबाट प्राप्त हुने आन्तरिक स्रोतको सङ्कुचन हुन गएको बताउनुभयो ।

पालिकामा कृषि तथा पशुपालनबाट देशभित्रै स्वरोजगार बन्ने प्रचुर सम्भावना रहेको बताउँदै उहाँले कृषि उत्पादनको सुनिश्चितताका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने र मुख्य बालीहरूको न्यूनतम समर्थन मूल्य तोकिने बताउनुभयो ।

गाउँपालिका भित्रका महत्त्वपूर्ण सडकहरूको कालोपत्रे तथा ढलान गर्ने, भित्री सडकहरूमा ग्राभेल गर्ने कार्यलाई निरन्तरता दिइने, नयाँ सडकको ट्रयाक खोल्नुअघि वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने र स्थानीय सार्वजनिक यातायात रुट निर्धारण गरी प्रदेश यातायातसम्बन्धी कानुनको कार्यविधिका आधार भाडा निर्धारण र नियमन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिका अध्यक्ष कालाखेतीले विगत दुई वर्षदेखि शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आएको बताउँदै सार्वजनिक प्रशासनलाई सुदृढ, सक्षम, प्रतिस्पर्धी, समावेशी र जनउत्तरदायी बनाई कार्यसम्पादनलाई नतिजामुखी र अनुमानयोग्य बनाउन प्रविधिमैत्री बनाउँदै लैजाने गरी आगामी आवको नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो ।