• १३ असार २०८१, बिहिबार

विद्युत महसुल नतिर्ने सामुदायिक विद्यालयको लाइन काटियो

blog

यादवराज पुुरी
रौतहट, असार ५ गते ।
 विद्युत महसुल बक्यौता राखेका सामुदायिक विद्यालयको लाइन काटिएपछि पठनपाठन र प्रशासनिक कार्य प्रभावित बनेको छ । नेपाल विद्युत प्राधिकरण चन्द्रपुर वितरण केन्द्रअन्तर्गत चन्द्रपुर, गुजरा र वृन्दावन नगरपालिकाका २७ वटा विद्यालयको लाइन काटिएपछि ती विद्यालयका पठनपाठन र प्रशासनिक कार्य प्रभावित बनेको हो ।

वितरण केन्द्रले चन्द्रपुर नगरपालिकामा रहेको दुर्गा माध्यमिक विद्यालय ठाडाटोल, मावि रैयाटोल, कृष्ण मावि बालचनपुर, गुजरा नगरपालिकामा रहेको कङ्काली मावि जङ्गलसहिया र वृन्दावन नगरपालिकामा रहेको बतहु मावि हर्षाहालगायत आधारभूत तह समेतका २७ वटा सामुदायिक विद्यालयमा विद्युत प्रसारण बन्द गरेको छ । ती विद्यालयमा विद्युत नहुँदा बढेको गर्मीले पठनपाठन प्रभावित बन्नुकोसाथै नेट र इन्टरनेट समेत अवरुद्ध भई प्रशासनिक कार्य समेत प्रभावित बनेको छ ।

वितरण केन्द्र चन्द्रपुर शाखा प्रमुख धिरेन्द्र यादवले विद्युत प्रसारण लाइन काटिएका ती विद्यालयमा १० लाखभन्दा बढी महसुल बक्यौता रहेको बताउनुभयो । उहाँकाअनुसार बक्यौता रकम तिर्न पटक÷पटक पत्राचार गर्दा पनि कुनै सम्पर्क नभएपछि बाध्य भएर लाइन काट्नु परेको हो ।

लाइन काटिएपछि विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पैसाको जोहो गर्न वडा तथा नगरपालिकाको कार्यालय धाउन थालेका छन् । आम्दानीको स्रोत भएका दुर्गा मावि ठाडाटोल, कङ्काली मावि जङ्गलसहिया, अम्बिका निमावि चन्द्रपुर, कृष्ण मावि बालचनपुर र हातेमालो प्राविले भने बुधबार बक्यौता महसुल तिरेका छन् ।

लाइन काटिएका विद्यालयका विद्यार्थी बिना पङ्खा अध्ययन गर्न बाध्य छन् । ४० डिग्री तापक्रम भएको बेला विद्यालयको लाइन काटिदा जस्तापाटाले छाएको छानामुनि बसेर अध्ययन अध्यापन गराउँदा शिक्षण सिकाई प्रभावकारी हुन नसकेको र प्रशासनिक कार्य समेत अवरुद्ध भएको कारण पैसाको जोहो गरी बक्यौता रकम तिरेको कृष्ण मावि बालचनपुरका प्रधानाध्यापक हेमन चौधरीले बताउनुभयो ।