• १३ असार २०८१, बिहिबार

सुकेटारमा तीन सातादेखि उडान ठप्प

blog

हाल उडान ठप्प भएको ताप्लेजुङको सुकेटार विमानस्थल । तस्बिरः चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ५ गते । ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा तीन साता बढी समयदेखि उडान ठप्प भएको छ । प्रतिकूल मौसमका कारण एक मात्र नेपाल वायु सेवा निगमको उडान ठप्प भएको हो । 

बर्खा मौसम सुरु भएसँगै सुकेटार विमानस्थलमा हवाई उडान अवरुद्ध बनेको छ । सदरमुकाम फुङ्लिङस्थित नेपाल वायु सेवा निगमको स्टेसन कार्यालयका अनुसार मौसम प्रतिकूलताकै कारण उडान ठप्प भएको छ ।

स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार गत जेठ ११ गते शुक्रबारदेखि सुकेटार विमानस्थलमा उडान बन्द भएको छ । जेठ दोस्रो सातापछि प्रायः मौसम नखुलेको अर्थात् बाक्लो हुस्सु र कुहिरो लाग्न थालेकाले उडान हुन नसकेको स्टेसन इन्चार्ज कार्कीले बताउनुभयो । 

पछिल्लो डेढ साता यता दिनहुँजसो वर्षा भइरहेकाले उडान सञ्चालन हुने स्थिति नरहेको स्टेसन कार्यालयले जनाएको छ । यता उडान ठप्प हुँदा सेवाग्राही सेवा उपभोग गर्नबाट वञ्चित भएका छन् । 

उडान नहुँदा ताप्लेजुङ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटक साथै अन्य सेवाग्राहीले हवाई सेवा लिन नपाएका हुन् । अब मौसममा सुधार नआएसम्म उडान अनिश्चित रहेको पनि नेपाल वायु सेवा निगमको स्टेसन कार्यालयले जनाएको छ । 

नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजले हप्ताको एक दिन बुधबार काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान भर्दै आएको छ । निगमले पर्यटकीय मौसम अर्थात् हिउँद याममा भने हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान सञ्चालन गर्ने गरेको छ ।