• १३ असार २०८१, बिहिबार

दाङमा ‘ए’ डिभिजन लिग फुटबल सुरु

blog

जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको बडहरा फुटबल क्लबका खेलाडी ।

लीलाधर वली

घोराही, असार ५ गते । दाङमा ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०८१ सुरु भएको छ । दाङ जिल्ला फुटबल सङ्घको आयोजना तथा अखिल नेपाल फुटबल सङ्घ एन्फाको सहयोगमा बुधवारदेखि तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बेलझुण्डी रङ्गशालामा प्रतियोगिता सुरु भएको हो । 

प्रतियोगिताको उद्घाटन खेलमा बडहरा फुटबल क्लब घोराही विजयी भएको छ । बडहरा फुटबल क्लब घोराही र युनाइटेड फुटबल क्लब तुलसीपुरबिच भएको उद्घाटन खेलमा ४–१ गोल अन्तरले युनाइटेडलाई हराउँदै बडहरा फुटबल क्लव विजयी भएको थियो । खेलको ३५ औं मिनेटमा गोल खाएर १–० ले पछि परेको अवस्थामा कमव्याक जित निकाल्दै प्रतियोगितामा बडहराले विजयी सुरुवात गरेको हो । खेलको ४० औं मिनेटमा बडहराका खेलाडी कपिल बुढाले १ गोल गर्दै खेल बराबरीमा लग्नुभएको थियो ।

पहिलो हाफमा १–१ गोल गरेर बराबरी खेलेपनि दोस्रो हाफमा बडहराले थप ३ गोल गर्दै जारी प्रतियोगितामा जित निकाल्न सफल भएको हो । दोस्रो हाफमा बडहराको जितका लागि खेलाडी बिजेन्द्र घर्ती (राते)ले २ र कपिलले थप १ गोल गर्न सफल हुनुभएको थियो । 

असारको १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १२ क्लबको सहभागी छन् । लिग कम नकाउटका आधारमा खेलाइएको प्रतियोगितामा सहभागी क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा युनाईटेड फुटबल क्लब तुलसीपुर, न्यू स्टार फुटबल क्लब नारायणपुर, सक्सेस फुटबल तुलसीपुर, बडहरा फुटबल क्लब घोराही, एसएसएफए तुलसीपुर र इनोभेटिम ज्ञानज्योति फुटबल क्लब तुलसीपुर छन् ।

समूह ‘बी’ मा नवलपुर फुटबल एकेडेमी घोराही, टाइगर युवा क्लब तुलसीपुर, युएनबिसी घोराही, किसान जागृत युवा क्लब घोराही, राप्ती फुटबल क्लब घोराही र लक्ष्य युबा क्लब तुलसीपुर रहेको दाङ जिल्ला फुटबल सङ्घका अध्यक्ष संजात धितालले जानकारी दिनुभएको छ । समूह ‘ए’ र समूह ‘बी’ का बिजेता, उपबिजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । लिगको विजेता टिमले नगद ५० हजार, कप, पदक प्रमाणपत्र हात पार्नेछ भने उपविजेता टिमले नगद २५ हजार, पदक, प्रमाणपत्र हात पार्नेछ ।