• १३ असार २०८१, बिहिबार

पाँच सय र हजारका नोट तत्काल प्रतिबन्ध लगाउनुपर्छ : कांग्रेस उपसभापति गुरुङ

blog

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ

काठमाडौँ, असार ५ गते । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोट प्रतिबन्ध लगाउन सरकारसँग माग गर्नुभएको छ । मुलुकमा आर्थिक सुशासन कायम गर्ने हो भने सरकारले पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउनुपर्ने उहाँको जिकिर थियो ।

बुधबार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिनुहुँदै उपसभापति गुरुङले ती नोटहरू प्रतिबन्ध गरियो भने मुलुकमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने, सोही अनुपातमा गैरकानुनी कारोबार रोकिने र ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुने दाबी समेत गर्नुभयो ।

उहाँले अवैध रूपमा राखिएका धनराशि पनि पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि बाहिर आउने उल्लेख गर्नुभयो ।

‘‘आर्थिक सुशासनका लागि मेरो प्रस्ताव हो यो, पाँच सय र हजारको नोट प्रतिबन्ध गर्न सक्नुपर्दछ । सरकारमा बसेका साथीहरूलाई यो निवेदन गर्न चाहन्छु, सभामुख महोदय । आजको दिनमा यदि आर्थिक सुशासन सुशासन कायम गर्ने हो भने हामीले पाँच सय र हजारको नोट अब प्रतिबन्ध गरेर जान आवश्यक छ ।,’’  उपसभापति गुरुङले भन्नुभयो, ‘‘यदि यी नोटहरू प्रतिबन्ध गर्‍यौँ भने ८० प्रतिशत गैरकानुनी कारोबार रोकिन्छ । ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुन्छ । र ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुन्छ । यसरी जाने हो नि त । अनि सिरानी मुनि भएका पैसा, खाटमुनि भएका पैसा, जमिनमुनि भएका पैसा, पानीमुनि भएका सबै पैसा बाहिर आउँछ ।’’

उपसभापति गुरुङले सिरानी मुनि, खाटमुनि, जमिनमुनि र पानीमुनि भएका सबै पैसा बाहिर ल्याउनका लागि पनि सरकारले पाँच सय र हजारको नोटमा तत्काल प्रतिबन्ध लगाउन आवश्यक रहेको बताउनुभयो ।