• ३ माघ २०८१, बिहिबार

गस्ती गर्न प्रहरीलाई मोटरसाइकल सहयोग

blog

लहान नगरपालिकाले उपलब्ध गराएको मोटरसाइकलमा गस्तीका लागि जाँदै प्रहरी । तस्विरः जीवछ यादव

जीवछ यादव

लहान, असार ५ गते । केही दिन यता लहान नगरपालिकाको ग्रामीण भेगको वडामा चोर डकैतहरु सवारी साधनमा आएर डकैती गर्ने त्रास फैलिएपछि शान्ति सुरक्षा कायम राख्न लहान नगरपालिकाले इलाका प्रहरी कार्यालय लहानलाई १४ वटा मोटरसाइल उपलब्ध गराएको छ । 

लहान नगरपालिकाको सहरी क्षेत्रमा पर्ने १० वटा बाहेक ग्रामीण भेगमा पर्ने १४ वटा वडामा राति गस्ती गर्न सवारी साधन अभाव रहेकाले लहान नगरपालिकाले १४ वटा मोटरसाइकल उपलब्ध गराएको हो । 

प्रतिमोटरसाइकल दुई जना प्रहरी सवार भएर वडा –११ देखि २४ सम्म गस्ती गर्न मङ्गलबारदेखि गस्ती सुरु गरिएको हो । इलाका प्रहरी कार्यालय लहानका नायब प्रहरी उरीक्षक विषणुप्रसाद सोतीले लहान –१७ हरिपुरबाहेक अन्य ठाउँमा केही तत्व सक्रिय भएर त्रासको वातावरण सिर्जना गरिरहेको बताउनुभयो । 

लहान नगरपालिकाको –२४ वटै वडामा शान्ति सुरक्षा कायम राख्न प्रहरी गस्तीलाई बढाएको भन्दै ग्रामीण भेगमा गस्तीका लागि लहान नगरपालिकाले १४ वटा मोटरसाइकल उपलब्ध गराएको नगरप्रमुख महेशप्रसाद चौधरीलाई धन्यावाद ज्ञापन गर्नुभयो । हरिपुरको घटनामा संलग्न डाँकाको खोजीका लागि प्रहरी परिचालन गरी खोजीमा प्रहरी लागिपरेको उहाँले जानकारी गराउनुभयो । 

लहान –१७ हरिपुर एकरतियामा बैशाख ३१ गते राति चार पाङग्रे गाडीमा सवार भएर आएका डाँकाहरुको समूहले रामबाबु ठाकुर मैनती यादव, राजदेव यादव, रामप्रसाद यादव, चित्ररञ्जन यादव र मखन साहको घरबाट पाँच लाखभन्दा बढी नगद र सुनचाँदी लुटपाट गरेको थियो । 

अन्य वडामा समेत चोर डाँकाहरुले लुटपाट गर्न शङ्कास्पद गतिविधि गर्न थालेपछि राति गाउँका युवाहरु गस्ती गर्न थालेको छ । स्थानीयवासीले प्रहरी गस्ती बढाउन माग गरेपछि लहान नगरपालिकाले इलाका प्रहरी कार्यालय लहानलाई १४ वटा मोटरसाइकल उपल्बध गराएको छ । 

लहान नगरपालिकाले मङ्गलबार रातिदेखि प्रहरी गस्ती ग्रामीण भेगका वडामा नियमित प्रहरी खटाएपछि स्थानीयले शान्ति सुरक्षको महसुस गर्न थालिएको लहान–२३ का पूर्व वडाध्यक्ष कन्हैयाप्रसाद गुप्ताले बताउनुभयो । 

प्रहरी गस्ती खटाउनुका साथै लहान नगरपालिकाको जनप्रतिनिधिको एक टोली स्थानीयलाई त्रसित नहुन वडामा अनुगमनका लागि जाने निर्णय गरिएको लहान नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो ।