• १३ असार २०८१, बिहिबार

घट्टेखोलामा निर्माण गरियो दुई नयाँ काठेपुल

blog

डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले चामे–४ स्थित घट्टेखोलामा दुई वटा नयाँ काठेपुल निर्माण गरिँदै । तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट
मनाङ, असार ५ गते ।
मनाङको डुम्रे–बेँसीसहर–चामे सडक माथिल्लो मनाङ, तिलिचो ताल, खाङ्सार, थोराङ्ला भञ्ज्याङ ‘थोराङ्ला पास’ आवतजावत गर्ने एकमात्र मार्ग हो । सडक निर्माण भएको लामो समय भइसके पनि यस मार्गमा रहेका खोला, खोल्सी पार गर्न काठेपुलकै भर पर्नुपरेको छ । यी पुल पनि जीर्ण बन्दै गएपछि आवतजावतमा समस्या भएको थियो ।

यसै समस्यालाई मध्यनजर गरी डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले चामे–४ स्थित घट्टेखोलामा दुई वटा नयाँ काठेपुल निर्माण गरेको छ । जीर्ण भएका दुई वटा काठेपुललाई हटाई नयाँ काठेपुल बनाइएको आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले बताउनुभयो ।

गत जेठ १८ गते गोरखापत्रमा ‘वर्षामा बन्दैछन् काठेपुल’ भन्ने समाचार प्रकाशित भएपछि डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयले घट्टेखोलामा दुई काठेपुल निर्माण सम्पन्न गरेको हो ।

डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका अनुसार सदरमुकाम चामेमा मात्रै चार ठाउँमा काठेपुल छन् । दुई ठाउँको दुईटाचाहिँ निर्माण सम्पन्न भइसकेको छ भने चामे–१ तिमाङस्थित तिमाङखोलामा, चामे–२ स्थित स्यार्कुखोलामा रहेको काठेपुलको अझै मर्मतसम्भार हुन सकेको छैन । विशेष गरी वर्षाको बेला जीर्ण पुलमा आवतजावत गर्दा बढी नै जोखिम हुने गरेको स्थानीयले गुनासो गरेका छन् ।

आयोजना कार्यालयका सब इन्जिनियर सुमन अधिकारीले बर्खा लाग्न थालेपछि चामेको दुईवटा घट्टेखोलामा नयाँ काठेपुल निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पक्की मोटर गुड्ने पुल निर्माण गर्न समय लाग्ने भएपछि वर्षातमा सहज बनाउने उद्देश्यले नयाँ काठेपुल बनाइरहेका छौँ ।’’ काठेपुल हटाएर पक्की पुल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन ‘डीपीआर’का लागि सम्झौता भएको उहाँले जानकारी दिनुभयो ।

‘‘यस सडक खण्डअन्तर्गत १५ वटा पुल निर्माणका लागि डीपीआर भएको छ । बजेट प्राप्त भएपछि बोलपत्र आह्वान गरी काम अगाडि बढाउने तयारी छ । त्यसपछि काठेपुल विस्थापन हुनेछन् ।,’’ अधिकारीले अगाडि भन्नुभयो ।

मनाङ पर्यटकीय क्षेत्रसमेत भएकाले यहाँ आउनेहरूले यही सडक प्रयोग गर्दछन् । सडकमा काठेपुल मात्रै हुँदा सवारीसाधन आवतजावतमा कठिनाइ छ । सडक खण्डका नौवटा काठेपुलको यात्रा गरेर तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ पार गर्नुपर्ने भएकाले बाढीको समयमा यात्रा गर्न कठिन हुने गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले यही समस्या समाधानका लागि सडक आयोजनासँग पुल निर्माणबारे छलफल गरी पुल निर्माणकार्य अगाडि बढेको बताउनुभयो । पर्यटकीय क्षेत्रमा नै पुलको अभाव हुँदा हुने जोखिमलाई मध्यनजर गरी पुल निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरिएअनुरुप काम अगाडि बढेको उहाँले बताउनुभयो ।

‘‘सधैँ काठेपुलबाट यात्रा गर्न सजिलो हुँदैन । यस विषयमा छलफल हुँदा पक्की पुल नबनेसम्म जीर्ण बनेका काठेपुल मर्मत गरेर समस्या समाधान गरिनुपर्छ भनेर केही काम अगाडि बढेका छन् ।,’’ प्रजिअ लामिछानेले भन्नुभयो ।