• १२ असार २०८१, बुधबार

कुलेखानी जलाशयको सतह घट्यो (फोटो फिचर)

blog

अनिल पराजुली

हेटौँडा, असार ४ गते । मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलाशयको सतह घटेको छ । देशको एक मात्र जलाशययुक्त कुलेखानी आयोजनाको इन्द्रसरोवरमा पानीको सतह घटेपछि अत्यावश्यक समयमा भन्दा बाहेक कुलेखानी जलविद्युत् आयोजना सञ्चालन नगरिने भएको हो । 

इन्द्रसरोवरमा पानीको सतह समुद्री सतहबाट एक हजार चार सय ८५ दशमलव ०१ मिटरसम्म छ । हिजो सोमवार साँझसम्म एक हजार चार सय ८४ दशमलव ९८ मिटरसम्म मापन गरिएकोमा पानी परेपछि मङ्गलवार बिहान थप पानी जम्मा भएको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार २०५८ सालपछि अहिले पानीको सतह घटेको हो । कुलेखानीबाट आपत्तकालीन समयमा मात्रै बिजुली उत्पादन गरिने उहाँको भनाइ छ । 

पछिल्लो समय पानी कम परेकाले नेपालको जलविद्युतकाने महत्त्वपूर्ण ब्याक अप आयोजनाका रूपमा रहेको कुलेखानीमा पानीको सतह घटेको हो । विशेष गरी सुक्खा र गर्मीयाममा खोला, नदीको पानी कम हुँदा विद्युत् आपूर्ति र मागलाई सन्तुलन कायम गर्न र विद्युत् अधिक माग भएको समय तथा भोल्टेज कम र बढी हुँदा विद्युत् वितरण प्रणालीलाई व्यवस्थित गर्न कुलेखानी जलविद्युत् आयोजनालाई प्रयोग गरिने गरिएको छ ।

समुद्री सतहबाट एक हजार चार सय ८३ मिटरसम्म पानी पुगेपछि बिजुली उत्पादन गर्न नमिल्ने उहाँको भनाइ छ । पछिल्लो समयमा कुलेखानी विद्युत् आयोजना नियमित चलाउनुपरेको र पानी पनि नपरेका कारण इन्द्रसरोवरमा पानीको सतह घटेको हो  । समुद्र सतहबाट एक हजार पाँच सय ३० मिटरसम्म पानी जम्मा गर्न सकिन्छ ।