• १२ असार २०८१, बुधबार

दोलखामा राजस्व सङ्कलनमा वृद्धि

blog

ट्राफिक कारबाहि गरिँदै । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले
चरीकोट, असार ३ गते । 
दोलखामा ट्राफिक कारबाहीबाट करिब साढे १४ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । गत वैशाख र जेठ दुई महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले दोलखाले गरेको ट्राफिक कारबाहीबाट १४ लाख ७८ हजार पाँच राजस्व रकम सङ्कलन गरेको हो । यो राजस्व सङ्कलन गत महिनाभन्दा दोब्बर बढी हो ।

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट सो राजस्व असुल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) ठाकुर प्रसाद भट्टराईले बताउनुभयो ।

जिल्लामा ट्राफिकको नियम उल्लङ्घन गर्ने बढेकाले राजस्व रकम सङ्कलनमा पनि वृद्धि भएको उहाँको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बिना अनुमति सवारी चलाउने, सवारी साधनको कागजात ठिक नभएका वा अवैध कागजात भएको, मादक पदार्थ सेवन गरी सवारी चिलाउनेलगायतलाई गरिएको कारबाहीबाट राजस्व असुल गरिएको हो ।

ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार कारबाहीमा पर्ने सवारी साधनमा सबैभन्दा बोलेरो रहेको छन् । यस अवधिमा सबैभन्दा कम भने ट्याक्टर कारबाहीमा परेका छन् ।

यसरी दुई महिनाको अवधिमा कारबाहीमा परेका सात सय ३८ वटा बोलेरोबाट पाँच लाख ८४ हजार, ६ सय ५४ वटा मोटरसाइकलबाट चार लाख ९५ हजार, दुई सय २५ वटा बसबाट एक लाख ९३ हजार पाँच सय, दुई सय २३ वटा ट्रकबाट एक लाख ९२ हजार र १५ वटा ट्याक्टरबाट १५ हजार गरेर १४ लाख ७८ हजार ५ सय रुपियाँ राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ । दुई महिनाको अवधिमा पाँच वटा सवारीसाधन दुर्घटना भएका छन् । दुर्घटनामा कसैको मृत्यु भने नभएको प्रहरीले जनाएको छ ।

जिल्लामा ९४ स्थानमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । कार्यालयले दुर्घटना न्यूनीकरण गर्नका लागि विद्यालयमा विद्यार्थीहरूलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । जिल्लाका विभिन्न स्थानका विद्यालय लगायतमा पुगेर सञ्चालन गरिएको सचेतना कार्यक्रमबाट १२ हजार तीन सय ३५ जना लाभान्वित भएको प्रहरी प्रमुख भट्टराईले बताउनुभयो ।

जिल्लामा सडक दुर्घटनाका घटनामा वृद्धि हुन थालेपछि विद्यालयस्तरबाट नै ट्राफिक सचेतना दिएर दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ ।

स्कुलस्तरबाट नै विद्यार्थीहरूलाई ट्राफिक नियमसम्बन्धी सचेतना दिएर सवारी दुर्घटना न्यूनीकरण गराउने उद्देश्यका साथ कार्यक्रमलाई अगाडि बढाइएको उहाँको भनाइ छ । मुख्य गरी सहरी क्षेत्रका विद्यालयका विद्यार्थीहरूले व्यस्त सडक र राजमार्ग समेत पार गरेर आवागमन गर्नुपर्ने अवस्था रहेकोले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रमले उनीहरूलाई दुर्घटनाबाट जोगाउन सहयोग पुग्ने प्रहरीको अपेक्षा गरिएको छ । विद्यार्थीहरूलाई सवारी दुर्घटना तथा बाटो क्रस गर्दा ध्यान दिनुपर्ने विषयमा प्रशिक्षण दिइएको बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा विद्यार्थीहरूलाई सवारी साधन चलाउँदा आवश्यक कागजात साथमा लिएर हिँड्नुपर्ने, नियमको पालना गर्नुपर्ने, सवारी चलाउँदा ध्यान दिनुपनै जस्ता चेतनामूलक विषयको प्रशिक्षण दिइएको र विद्यालयमा सिकेका कुराहरू परिवार र समुदायमा पनि सचेतना गराउन अनुरोध गरिएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी प्रमुख भट्टराई ट्राफिक प्रहरीको जिम्मेवारी वफादारी भई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन, नयाँ भवनमा कार्यालय स्थानान्तरण, प्रशासनिक जरिवाना र राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि गरी ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गरेबापत पुरस्कृत समेत भएका छन् ।