• १२ असार २०८१, बुधबार

हिल्सामा पक्की पुल निर्माण कार्य सुरु

blog

हिल्सामा पुलको पिलर निर्माण हुने नेपाल पट्टीको जमिन खन्नका लागि ल्याइएका मेसिन । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, असार ३ गते । दुई देशको सिमाना हिल्सामा चीन सरकारद्वारा पक्की पुलको निर्माण कार्य सुरु गरिएको छ । निर्माण सुरु भएको एक वर्षमा सम्पन्न गर्ने गरी चीन सरकारबाट पुलको निर्माण कार्य सुरु भएको हो ।

सम्पूर्ण रूपमा चीन सरकारको आर्थिक सहयोगमा हिल्सामा दुई देशको सिमाना जोड्ने गरी पक्की पुलको निर्माण कार्य सुरु भएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले बताउनुभयो । उहाँले चिनीयाँ प्राविधिक टोलीको नेतृत्वमा आएको कामदार र  दुई वटा मेसिनबाट दुवैतर्फको पुल निर्माण गरिने स्थानमा पिलरका लागि जमिन खन्ने कार्य सुरु भएको बताउनुभयो । 

अब हिल्सामा पक्की पुल हालको चिनियाँ कस्टममा जोडिने गरी निर्माण गर्न लागिएको छ । चिनियाँ पक्षले पुलको निर्माण कार्य तीन सिफ्टमा काम गर्ने गरी सुरु गरेको बताउँदै उहाँले निर्धारित समयमा पुल निर्माण गरेर सञ्चालनमा ल्याउने चिनियाँ पक्षले बताएको उहाँले जानकारी दिनुभयो । पुलको कर्णाली नदी पारी पट्टीको चिनियाँ भूभाग र वारी पट्टी नेपाली भूभागमा पुलको पिलर निर्माणका लागि खन्ने कार्य सुरु भएको हो । 

प्राविधिक तथा अन्य अधिकांश कामदार समेत चीन बाटै ल्याइनेछ । केही कामदार भने नेपाल पट्टीको भूभागमा पिलरको निर्माण कार्य गर्दा नेपाली कामदारलाई प्रयोग गरिनेछ। यसका लागि केही समय अगाडी प्रमुख जिल्ला अधिकारी पोखरेल हिल्सामा गएर चिनियाँ पक्षसँग कुरा गर्नु भएको थियो । 

पुल निर्माणका लागि लाग्ने सम्पूर्ण लागत चिनियाँ पक्षले व्यहोर्ने छ । पुल निर्माणका लागि त्यसको अनुगमन गर्ने कार्य नेपाल सरकारको सडक विभागलाई भए बमोजिम सडक विभागले हिल्सा सिमकोट सडक आयोजनालाई दिएको आयोजनाका योजना प्रमुख बेल बहादुर नेपालीले बताउनुभयो । उहाँले पुल निर्माण कार्य सुरु भएकोले पटक-पटक सो निर्माण स्थलमा गएर प्राविधिकिले अनुगमन गर्ने बताउनुभयो । 

यो पुलको निर्माण पछि हाल नेपाल र चीनको सिमानाबाट नेपाली व्यापारी, निर्माण कम्पनी र व्यक्तिले सामान बोकाएर हिल्सा बजारमा ल्याउनु पर्ने बाध्यता हट्नेछ । यसअघि नेपालले हिल्सा कै नेपाली भूभागमा निर्माण गरेको बेलिब्रीज पनि काम नलाग्ने हुनेछ ।