• १२ असार २०८१, बुधबार

बाँकेमा धुमधामका साथ मनाइयो बकर इद

blog

नेपालगन्जको ईदगाहमा सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, असार ३ गते ।
इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इद–उल–अजहा (बकर इद) बाँकेमा धुमधामका साथ सोमबार मनाइएको छ । तीन दिनसम्म मनाइने सो पर्वलाई कुरबानी र बलिदानको पर्व पनि भनिन्छ ।

सोमबार बिहान स्थानीय इदगाहमा बकर इदको सामूहिक नमाज पढेर सुरु भएको सो पर्व तीन दिनसम्म खसी, भेडा र राँँगा जस्ता जनावर हलाल गरेर कुरबानी गरी तेस्रो दिन समापन गरिने परम्परा छ ।

इस्लाम धर्मका धार्मिक गुरु मौलाना अब्दुल जब्बार मन्जरीका अनुसार त्याग, बलिदान र कुरबानीको पर्वका रुपमा मनाइने यो पर्वको अन्य पर्वहरु भन्दा विशेष महत्त्व छ ।

इदगाहमा आयोजना गरिएको सामूहिक नमाजपछि मुलुकमा धार्मिक सदभाव, शान्ति, अमनचैन तथा आर्थिक विकासको कामना गर्दै विशेष दुआ मागिएको थियो । सो अवसरमा अत्यधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन अत्यन्त कष्टकर हुन पुगेको जनाउँदै छिट्टो वर्षाका लागि पनि विशेष दुआ मागिएको मुस्लिम समुदायका अगुवा जुबेर राइले बताउनुभयो ।

सो अवसरमा शुभकामना साटासाटका लागि बिपी चोकस्थित स्थानीय इदगाहमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खान, पूर्व सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई लगायत विभिन्न पार्टीका नेता कार्यकर्ता, जनप्रतिनिधिसहित सुरक्षा निकायका प्रमुखहरु पुग्नुभएको थियो । 

बकर इदमा कुर्वानी (पशुबलि) दिने चलन भएकाले कुरबानी गराउने आर्थिक रुपमा क्षमता राख्ने हरेक मुस्लिमले आ–आफ्नो घरमा खसी, भेडा वा राँँगा जस्ता जानवरको कुरबानी गराउनुपर्ने धर्मगुरुहरुको भनाइ छ ।

भेडा र खसी जस्ता साना जनावरमा एक जनाको नाममा मात्र कुर्वानी हुने चलन छ भने राँगा र उँट जस्ता ठुला जनावरमा सात जना मिलेर कुर्वानी गराउन सकिने परम्परा रहेको धार्मिक गुरु मौलाना मन्जरीले बताउनुभयो ।

उहाँले कुर्वानी गराएको मासु तीन भागमा छुट्याएर एक भाग गरिबमा बाँड्ने, एक भाग छरछिमेकमा बाँड्ने र एक भाग घरमा पकाएर आफू र आफन्तलाई खुवाउने प्रचलन रहेको जानकारी दिनुभयो ।

मुस्लिम सुमदायमा जोसँग साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी वा सो बराबरको धनसम्पत्ति छ र कुनै ऋण छैन भने त्यो व्यक्तिले अनिवार्य रुपमा बकर इदमा कुर्वानी गराउनुपर्ने धार्मिक नियम रहेको धर्मगुरुहरुको भनाइ छ ।