• १२ असार २०८१, बुधबार

प्रतिबद्धताका आधारमा काम गरिरहेका छौँ

blog

खाँदबारी नगरपालिका सङ्खुवासभाकै जेठो र अगुवा पालिका हो । २०५३ सालमा स्थापना भएको यो नगरपालिकामा ११ वटा वडा छन् । जिल्लाकै सबैभन्दा होचो समुद्र सतहबाट ५१८ मिटरमा पर्ने अरुण उपत्यका यसै पालिकामा पर्छ भने दुई हजार पाँच सय मिटरको उचाइको रमितेडाँडा पनि यसै पालिकामा पर्छ । जिल्लाको एक मात्र तुम्लिङटार विमानस्थल यही पालिकाको ९ नम्बर वडामा पर्छ । यस नगरपालिकाका लागि २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट महेश थपलिया नगरप्रमुखमा निर्वाचित हुनुभयो । नेपाली कांग्रेसबाट निर्वाचित उहाँसँग गोरखापत्र दैनिकका सङ्खुवासभा समाचारदाता ध्यान कुलुङले गर्नुभएको कुराकानी :

जिल्लाकै ठुलो नगरपालिकाको प्रमुखमा निर्वाचित भएर काम गर्नुभएको दुई वर्ष पनि पुग्यो ? यो अवधिलाई तपाईंले कसरी मूल्याङ्कन गर्नुभएको छ ?

 स्थानीय तहको सरकार प्रमुख भएर काम गर्न सोचे जस्तो सजिलो पनि नहुने रहेछ । आममानिसको तत्कालको समस्यादेखि भविष्यको सपनासमेत जोडिने भएकाले तत्काल ‘रेस्पोन्स’ गर्नुपर्ने हुन्छ तर सीमित स्रोत र साधनका भरमा काम गर्नु पर्छ । हामीले जे जति काम गरिरहेका छौँ, चुनावको समयको हाम्रो प्रतिबद्धताकै आधारमा गरिरहेका छौँ । केही ठुला आयोजनादेखि तल्लो तहका नागरिकको जीविकासँग सरोकार राख्ने कार्यव्रmमलाई प्राथमिकतामा राखेका छौँ । 

आमनगरवासीको जनजीविकाको सवालमा के कस्ता काम गर्नुभएको छ ?

यहाँका कृषकका उत्पादनलाई बजारसम्म पु-याउनका लागि हामीले सहज वातावरण तयार गरिदिएका छौँ । हामीले विगतमा कृषि उपजमा लगाउँदै आएको सबै प्रकारका कर हटाएका छौँ । त्यस्तै खानेपानीको महसुल ५० प्रतिशतले घटाएका छौँ । हामीले सामाजिक सुरक्षा भत्तालाई प्रत्येक वडाबाट नै वितरण गर्ने काम गरिरहेका छौँ । बैङ्कसम्म आउन नसक्ने ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई लक्षित गरी बैङ्कसँगको सहकार्यमा वडाबाट नै भत्ता वितरण सुरु गरिएको छ । यसले आमनगरवासीलाई सहज भएको छ ।

खानेपानीको महसुल त घटाउनुभयो तर पानी आपूर्तिमा नै समस्या छ नि ?

खानेपानीको समस्या खाँदबारीमा पुरानै हो तर हामीले स्थानीयस्तरमा नै मुहानसमेत खरिद गरी कम्तीमा दुई दिनमा एक पटक धारामा पानी पठाइरहेका छौँ । यसले केही राहत मिलेको नै छ । हामी निर्वाचित भएको साल त्यो पनि नभएर ट्याङ्करबाट बजारमा पानी वितरण गर्नु परेको थियो । यसअघि निर्माण गरिएको माङ्सीमा बृहत् खानेपानी आयोजनाको काम गरिए पनि सफल हुन सकेन । त्यो हाम्रो दुर्भाग्य हो । प्राविधिक समस्याका कारण ठाउँ ठाउँमा पाइप फुट्ने र सडकमा पाइप बिछ्याइएकाले राम्रो सञ्चालन हुन नपाउँदै नष्ट भयो तर हामीले फेरि त्यही माङ्सीमा खोलाबाट बृहत् खानेपानी आयोजना सुरु गर्न लागेका छौँ । यसका लागि मन्त्रालय, विभागबाट बजेट उपलब्ध गराउने करिब निश्चित जस्तै छ । त्यहाँबाट अपुग रकम हामी आफैँले पालिकाको स्रोतबाट भए पनि बजेट खर्चे खानेपानी ल्याउँछौँ । केही महिनाभित्र नै ठेक्का लगाउने तयारी गरिरहेका छौँ । काम सुरु भएको एकदेखि डेढ वर्षभित्र नै उक्त योजना सम्पन्न गरेर खानेपानीलाई सहज बनाउँछौँ ।

खाँदबारीमा पर्यटनको सम्भावना भएर पनि खासै काम हुन सकेको देखिँदैन नि ?

पर्यटन प्रवर्धन र विकासका लागि हामीले चरणबद्ध तरिकाले काम गरिरहेका छौँ । हामीले खाँदबारी–१ कै रमितेडाँडाबाट प्याराग्लाइडिङलगायतका साहसिक खेलको सम्भाव्यता अध्ययन गरिसकेका छौँ । निकट भविष्यमा नै त्यसलाई आयमूलक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्छौं । खाँदबारी नगरपालिका–९ स्थित अरुण नदी किनारैमा मनकामनाधाम छ । यसलाई पूर्वकै एक धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न हामीले डिपिआर तयार गरी काम गरिरहेका छौँ । त्यस अन्तर्गत मन्दिरनजिकै रहेको घाटलाई अलि टाढा व्यवस्थित गरेका छौँ । खाँदबारी नगरपालिका भएर बग्ने अरुण नदीमा जल यातायात सञ्चालनको प्रयास भइरहेका छन् । सबै काम एकै पटक त गर्न सम्भव पनि छैन । 

तपाईं भगिनी सम्बन्ध राख्ने भनेर अमेरिका पुग्नुभयो । त्यसको उपलब्धि चाहिँ के  भयो ? 

हामीले संयुक्तराज्य अमेरिकाको सुपेरियर सिटीसँग भगिनी सम्बन्ध राखेका छौँ । गत वर्षबाट मात्र सुरु गरिएको यो अभियान एक वर्ष पनि पुगेको छैन । त्यसैले अहिलेको अहिले नै उपलब्धि खोजिहाल्नु हुँदैन । यो भनेको लामो समयसम्मको सम्बन्ध हो । हामी त्यहाँ गयौँ, उहाँहरू समेत खाँदबारी आउनुभयो । बल्ल त सम्बन्ध विस्तार हुँदै छ । यति हुँदाहुँदै पनि उताबाट केही सहयोग प्राप्त हुने प्रव्रिmया सुरु भइसकेको खबर प्राप्त भइसकेको छ । अहिले नै त यही हो नभनौँ, भएको दिन खबर गरौँला । हामी अमेरिका जाँदा पालिकाको वा सरकारको खर्च गरेको होइन । जे जति खर्च भयो, हामी आफँैले व्यक्तिगत रूपमा गरेका हौँ । 

स्थानीय तह सञ्चालनका सजिलो अप्ठ्यारो पाटो के के रहेछन् ?

स्थानीय तहको सरकार भनेको जनतासँगै उठबस गर्ने सरकार भएकाले केही सजिलो पनि छ । फेरि जनताको नजिकको सरकार भएकैले चाहना पनि अत्यधिक नै हुने गर्छन् तर हामीसँग स्रोत भने निकै न्यून हुन्छन् । माथिल्लो सरकारबाट आउने अनुदान बजेट कम हुने र आन्तरिक आय पनि कम हुने भएपछि चाहे जत्ति काम गर्न नसकिने रहेछ । नेपालको अर्को दुर्भाग्य के छ भने प्रदेश र सङ्घमा जिल्लाबाट मन्त्री भयो भने मात्र अलि राम्रो बजेट आउने चलन छ । जसले गर्दा हामी जस्तो मन्त्री नहुने जिल्लाका पालिकालाई सजिलो छैन ।

तपाईंको कार्यकाल सकिँदा खाँदबारी नगरपालिका कस्तो बन्ने छ ?

अघि पनि मैले भनेँ, हामी हाम्रो चुनावको समयमा गरिएको प्रतिबद्धतालाई नै शिरमा राखेर काम गरिरहेका छौँ । हाम्रो कार्यकाल सकिँदै गर्दा खाँदबारी नगरपालिकामा खानेपानीको समस्या सकिने छ । सबैको धारामा चौबिसै घण्टा नियमित स्वच्छ पानी आएको हुने छ । धारा नपुगेको गाउँघरमा पनि सबैको घरमा धारा पुगेको हुने छ । खाँदबारी नगरपालिका जिल्लाको सदरमुकामसँग समेत जोडिएकाले अन्य पालिकाको केन्द्रसम्म जाने पालिकाभित्रको सडक कालोपत्रे भइसक्ने छन् । त्यस अन्तर्गत मानेभन्ज्याङदेखि हेलुवाबेँसी सडक कालोपत्रे भइसक्ने छ । त्यस्तै धुपु बाह्रबिसेतर्फ जाने र पाँचखपनको वानातर्फ जाने सडक कालोपत्रे भइसक्ने छन् । नगरपालिकाभित्रका भित्री सडक पनि बाह्रै महिना बिनाअवरोध सञ्चालन हुने किसिमको हुने छ । धार्मिक पर्यटनको क्षेत्रमा मनकामनाधाममा धेरै संरचना निर्माण भइसकेको हुने छ ।