• १२ असार २०८१, बुधबार

पाँच वर्षदेखि वृद्धाश्रमको भवन अलपत्र, ठेकेदार सम्पर्कविहीन

blog

गुणबहादुर रोका 

सुलीकोट, जेठ ३ गते । गोरखा नगरपालिका – १० छेपेटारको ठुटे बजारमा रहेको वृद्धाश्रम भवन निर्माण अलपत्र परेको छ । अशक्त, ज्येष्ठ नागरिकहरूको लागि जीवनयापन सहज ढङ्गले ब्याबस्थापन गर्ने उद्देश्यले ५ वर्ष अघि निर्माण सुरु गरिएको उक्त भवन ठेकदारले विभिन्न कारण देखाउँदै रङरोगनलगायतका केही काम बाँकी राखेकोमा अहिले भने धमाधम काम भइरहेको पूर्वाधार कार्यालय गोरखका सूचना अधिकारी शर्मिला थापाले जानकारी दिनुभयो । 

गोरखा नगरपालिकाको – १० छेपेटारमा रहेको सरकारी ३ रोपनी जग्गामा बनेको सुविधासम्पन्न वृद्धाश्रममा १ गार्ड रुम, १ सभा हलसहित २४ कोठा छ ।  

बृद्धश्रमको भवन कुल ५ करोड २९ लाख २९ हजार ३ सय ९३ रुपियाँमा बजेटमा निर्माण गरिएको इन्जिनियर शर्मिला थापाले बताउनु भयो । पूर्वाधार कार्यालय गोरखा र आशिष ईको जेभी खैरेहनी चितवन बिच २०७६ साल भदौ १ गते सम्झौता भई २०७८ भदौ १ गते सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख  भए पनि निर्माण कम्पनीको लापरबाही र ढिलासुस्तीले गर्दा भवन निर्माण हुन लम्बिएको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ । 

 निर्माण कम्पनीले कोभिडलगायत विविध कारण देखाउँदै पटक पटक गरी ३ पटक म्याद थप गरिएको छ । तेस्रो पटक २०८१ भदौ २२ गतेसम्म सम्पन्न गर्नुपर्ने अन्तिम म्याद छ । त्यस भवनको काम निर्माण भएता पनि त्यस वरिपरि नाली, बाटो, बिजुली, झयालढोका र मुख्य गेट बनाउन सुरु गरिएकाले समयभन्दा अगावै सम्पन्न हुने पूर्वाधार कार्यालय गोरखाले जनाएको छ । 

पूर्वाधार कार्यालय गोरखका प्रमुख गणेश सुबेदीले निर्माण कम्पनीलाई पटक पटक बोलाएर समयमै काम सम्पन्न गर्न आग्रह गर्दै तोकिएको मितिमा काम सम्पन्न नगरे कडा रूपमा कार्यालयले कदम चाल्ने जानकारी गराए पछि निर्माण कम्पनीले धमाधम काम सुरु गरेको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ । 

भवन निर्माण अन्तिम चरणमा भएकाले पूर्वाधार कार्यालय गोरखाले भवन हस्तान्तरण गरेपछि त्यसको रेखदेख ब्याबस्थापन सम्पूर्ण जिम्मा गोरखा नगरपालिकाले लिने गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानाले जानकारी दिनुभयो ।