• १२ असार २०८१, बुधबार

बकर इद पर्वले नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायमः सभामुख घिमिरे

blog

काठमाडौँ  असार ३ गते । सभामुख देवराज घिमिरेले बकर इदजस्ता चाडले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, समाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

इस्लाम धर्मावलम्बीको पर्व बकर इद [अल अजहा] को अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले विविधताभित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो भन्दै बकर इदले आपसी सद्भाव र भाइचारा अभिवृद्धिमा टेवा पुग्ने बताउनुभयो ।

सभामुख घिमिरेले नेपालको संविधानले सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षण, धार्मिक सांस्कृतिक स्वतन्त्रताको अधिकार प्रदान गरेको उल्लेख गर्नुभएको छ । “सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच सुदृढ एकता रहेको हाम्रो देशमा बकर इदले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी मौलिक संस्कृति र परम्परा संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छु ।” शुभकामना सन्देशमा भनिएको छ ।

नेपाल विभिन्न जाति, भाषा र संस्कृतिमा धनी रहेको छ । हरेक जातजातिका आफ्नै विशेषता बोकेका फरक–फरक चाडपर्व छन् । हिमाल, पहाड र तराई मिलेर बनेकाले ठाउँअनुसार फरक संस्कार र संस्कृति हुन्छन् । उहाँले सनातनदेखि आस्थाको धरोहरको रुपमा रहेको हाम्रा चाडपर्व र त्यस चाडपर्वमा देखिने विविधताभित्रको एकता नेपालीपनको छुट्टै विशेषतायुक्त संस्कृति र संस्कार भएको बताउनुभयो । 

सभामुख घिमिरेले बकर इद इस्लाम समुदायको सबैभन्दा महत्वपूर्ण र विश्वभरका मुस्लिमले मनाउने दोस्रो प्रमुख इस्लामिक चाड भएको भन्दै उक्त पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम समुदायलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना व्यक्त गर्नुभएको छ ।